राप्रपा नेपालले आगामी निर्वाचनमा राम्राे नतिजा ल्याउने थापाकाे दाबी

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टी सम्पूर्ण रूपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि बताए । उनले पाँच वर्षको अवधिमा पार्टीले निकै कुरा गुमाएको भन्दै अब राप्रपा नेपाल सशक्त रूपमा अघि बढ्ने स्पष्ट पारे ।
विगतका त्रुटिहरूप्रति जनतासँग क्षमा याचना गर्दै अब गल्ती नगर्ने प्रतिबद्धता जनाएको भन्दै उनले पार्टीका एजेण्डलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे । अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदूरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरे ।
प्रमुख दलहरूको अदूरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भैरहेको उनले बताए । त्यस्तै उनले प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक–पटक आघात पुर्याएको पनि धारणा राखे ।
थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रूपमा धर्म परिवर्तन भैरहेको पनि आरोप बताए । राप्रपा नेपालले महिला, आदिवासी, जनजाति, थारू, अल्पसंख्यक समुदायको हितलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।








