युक्रेन-रुस युद्ध

पश्चिमा प्रतिबन्धको जबाफमा रुसले लगायो दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक

काठमाडौँ । युक्रेनमा आक्रमण गरिरहेको रुसले दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक लगाएको छ । पश्चिमा प्रतिबन्धको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको हो ।

अब दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ । रुसको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने जनाएको छ । उसले भनेको छ, ‘यो उपाय रुसमाथि थोपिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो ।’

रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरू समावेश गरिएका छन् र यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहनेछ । पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन् । त्यस्तै उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन् ।

रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन् । रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ । प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन् । त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरू पनि समावेश छन् ।

रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो । रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरूले सामूहिक रूपमा लगानी रोकिरहेका छन् । बुधवार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ ।

बिहीबार एउटा वक्तव्यमा मेद्भेदेभले भनेका छन्, ‘रुस सरकारले पहिले नै केही उपायमा काम गरिरहेको छ र त्यसमा‘ विदेशी कम्पनीका सम्पत्तिको राष्ट्रियकरण समावेश छ । विदेशी कम्पनीहरूले के बुझ्नुपर्छ भने उनीहरूलाई हाम्रो बजारमा फर्कन गाह्रो हुनेछ ।’ उनले विदेशी लगानीकर्ताले सामान्य रुसी नागरिकमा आतंक सिर्जना गरेको आरोप पनि लगाएका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *