प्रदेशसभामा जनमोर्चाको प्रश्न : एमसीसी पास गरेर चीनसँग लड्न खोजेको हो ?

पोखरा । राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी खारेज गर्न माग गरेको छ । गण्डकी प्रदेशसभाबाट जनमोर्चाले एमसीसी राष्ट्रहित विपरीत भएकोले खारेज गर्नुपर्ने आवाज उठाएको हो ।

‘हामी स्वतन्त्र राष्ट्र हौँ, कसैको गुलाम हैनौँ । विकास नै चाहिएको हो र विकासका लागि यो परियोजना आएको हो भने हाम्रो विकासका लागि भारतको समर्थन किन चाहियो ?’ जनमोर्चा संसदीय दलकी नेता पियारी थापाले भनिन्, ‘नेपाल भारतको एउटा प्रान्त हो वा दास हौँ ? हामी त्यो ज्यादती सहन सक्दैनौँ । हाम्रो योजना बनाउँदा भारतीय सहभागिता आपत्तिजनक छ ।’

उनले एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडेकी छन् । ‘यो अमेरिकाले चीनलाई घेर्नका लागि बनाएको रणनीति हो । यसलाई अंगिकार गरेर के हामी छिमेकी देशसँग लड्न खोज्दै छौं ? हाम्रो ताकत छ ?’ उनले प्रश्न गर्दै भनिन्, ‘संविधान र राष्ट्रियताको रक्षा गर्दै छिमेकीसँग असल सम्बन्ध कायम राख्नुपर्छ । अहिले एमसीसी राहतजस्तो लागेपछि यो स्लो पोईजन हो । यसले अन्तमा आहात दिन्छ र रणभूमिमा परिणत गर्छ ।’

थापाले प्रदेशले कानुनमात्रै बनाउने र कार्यान्वयन नगरेको गुनासो गरिन् । ‘विधेयक मात्रै बनाएर दराजमा राखेर हुँदैन । धुलो टकटक्याएर राख्ने मात्रै हो कि जनस्तरमा कार्यान्वयन पनि गर्ने हो ?,’ उनी भन्छिन्, ‘मौलिक अधिकार सम्बन्धि कानुन बनाउने र कार्यान्वयन गर्नेमा सरकार जिम्मेवार होस् । वार्षिक बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विनियोजन भएको छ, राम्रोसँग खर्च हुन सकेको छैन ।’

वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ । ‘वर्तमान सरकारको हालत हेर्दा बाटो हाई ग्रेडको छ, टु ह्वीलवाला गाडी छ । त्यसलाई हाँक्नका लागि सक्षम नेतृत्व छ त ?,’ गठबन्धनप्रति व्यंग्य गर्दै थापाले थपिन्, ‘गाडीको एउटा पाङग्रा एकातिर लरखरिन्छ, अर्को पाङग्रा अर्कोतिर लरखरिन्छ । त्यो अवस्था नआओस् । दलगत स्वार्थ भन्दामाथि उठेर जनताका लागि काम गरौं ।’

उनले देशको परिस्थिति नाजुक भएको भन्दै भ्रष्टाचार, महँगी र बेथिति नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन् । जनमोर्चाले अहिलेको सरकारलाई समर्थन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *