वसन्तपुरमा चीर ठड्याइयो, होली प्रारम्भ

काठमाडौँ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरु भएको छ । आज बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरु हुन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।

तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याएका थिए । वसन्त उत्सवका रूपमा समेत मनाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्त्व रहेको छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *