नारी निकुञ्ज अस्ट्रेलियाले अस्पताल निर्माणमा सहयोग गर्ने

अस्ट्रेलिया । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्ज अस्ट्रेलियाले दोलखा सदरमुकाम चरिकोटमा निर्माण हुन लागेको महिला तथा बालबालिका अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ । नारी निकुञ्ज अस्ट्रेलिया संयोजक मञ्जु खड्काले यस बर्षको नारी दिवसमा आर्थिक संकलन गरेर अस्ट्रेलियन फर वुमन्स हेल्थले दोलखा सदरमुकाममा निर्माण गर्न लागेको महिला तथा बालबालिका अस्पताललाई सहयोग गर्ने बताइन् ।

महिला सहभागिता, नेतृत्व विकास साथै मातृभूमि नेपालमा रहेका महिलाहरूको स्वास्थ्य तथा आर्थिक–सामाजिक सशक्तीकरणका लागि नारी निकुञ्ज अस्ट्रेलियाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । ‘नेपाली महिलाहरूको नेतृत्व विकास तथा महिला सरोकारका विषयमा जनचेतनामूलक र परोपकारी कार्यक्रम मार्फत नेपाल तथा अस्ट्रेलियामा रहेका समग्र महिलाहरूको हितका लागि सहजीकरण गर्नु नारी निकुञ्जको उद्देश्य हो,’ संयोजक खड्काले भनिन्, ‘हामी विभिन्न कारणले प्रवासमा आएर रहेपनि आफ्नो जन्मभूमि नेपालका आमा, दिदीबहिनीहरूको दु:खमा मलहम् लगाउन चाहन्छौँ, हामी उहाँहरूको सुखी र समुन्नत जीवनका लागि हातेमालो गर्न चाहन्छौँ ।’

नारी निकुञ्जले नेपालको ग्रामीण भेगमा महिला तथा बालबालिकाका लागि अस्पताल निर्माण योजनाको सहयोगार्थ कार्यक्रम गर्दैछ । महिला स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिने नारी निकुञ्जले हालसम्म पाठेघर सम्बन्धी समस्या भएका नेपालका पाँच सयभन्दा बढी महिलालाई सहयोग गरिसकेको छ । संस्थाले गत वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा शौचालय निर्माण अभियानका लागि आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =