‘छोरीको नाममा हुने ‘भ्रुण हत्या’ दुखद’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखद भएको बताएका छन् । गर्भावस्थामै पुरुष छ कि महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भइरहेको उनले बताए ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भइरहेको बताए । ‘महिलालाई पहिला जन्मन दिनुपर्छ’, उनले भने, ‘अनि सम्पत्तिकाे अधिकारबाट महिलाहरूलाई बलियो बनाउनु पर्छ ।’

उनले महिलाहरू अझैपनि सम्पतिको अधिकारबाट बञ्चितिकरणमा परेको सुनाए । ‘महिलाहरूलाई पुरुषसरह बराबरीको अवस्थामा पुर्याउनु आवश्यक रहेको छ’, उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरूलाई पुरुष सरह बनाउनु पर्छ ।’ स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरूले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भएपनि लिनुपर्ने बताए ।

उपसभामुख सरस्वती पोखरेलले संविधान, कानुन महिला मैत्री भएको बताइन् । संविधान, कानुन महिला मैत्री हुँदापनि समाज महिला मैत्री हुन नसकेको उनको गुनासो छ । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उनको तर्क छ ।

सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि महिला मैत्री समाज निर्माणका लागि लाग्नु पर्ने बताए ।

दिवसको अवसरमा विराटनगरको देवकोटा चौकबाट निकालिएको ¥याली जलजला मोडहुँदै बजार परिक्रमापछि आदर्श माध्यामिक विद्यालयमा गएर कार्यक्रम गरी सम्पन्न भएको थियो । सोही अवसरमा आदर्श विद्यालयमै आयोजना गरिएको खुल्ला रक्तदानमा १७ पिन्ट रगत संकलन भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *