एमसीसीबारेको भ्रम चिर्न अभियान चलाउँदै कांग्रेस

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान चलाउने भएकाे छ । फागुन १५ गते आफ्नै अगुवाइमा नेपालकाे संसद्बाट पारित भएकाे अमेरिकी सहायता परियाेजनाबारेकाे भ्रम चिर्न कांग्रेसले गाउँसम्मै अभियान चलाउने भएकाे हाे ।
उक्त अभियान फागुन २९ गतेबाट शुरू हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले सार्वजनिक गरेकाे वक्तव्यकाे ८औं उद्देश्यमा भनिएकाे छ— ‘करिब करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारले संसदबाट पारित गरेको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने ।’
अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ । यस्तै अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित अभियानका लागि कांग्रेसले गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाउने छ । जिल्लाहरूमा खटिने प्रतिनिधिहरूलाई प्रधान मन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएका छन् । जिल्ला-जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान प्रभावकारी बनाउनका लागि निर्देशन दिन सानेपा बोलाइएको कांग्रेसले जनाएको छ ।








