बालविवाह अन्त्यसम्बन्धी देउडा प्रतियोगिता

सिमकोट । एक सय १२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह अन्त्य गर्नेसम्बन्धी जनचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको छ । लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका–५ र ६ मा गाउँमा बालविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो ।

आइतबार वडा ६ माथिल्लो गाउँ र सोमबार तल्लो गाउँमा देउडा गीत प्रतियोगिता सम्पन्न गरेको हो ।

सदरमुकाम सिमकोटसहित जिल्लाभर बालविवाह, महिलामाथि हुने हिंसा, घरेलुहिंसालगायत घटनामा कमी नआएका कारण यसको अन्त्य गर्न देउडा गीत प्रतियोगिता सञ्चालन गरेको सोही संस्थाका डिचिन डोल्कार लामाले बताए । एक/एक दिनको अन्तरालमा भएको देउडा प्रतियोगितामा वडा नम्बर ६ माथिल्लो गाउँमा १० वटा महिला टिमको सहभागिता रहेको थियो भने सोमबार पनि पाँच नम्बर वडामा रहेका १० वटा महिला टिमको सहभागिता थियो ।

वडा ६ मा आइतबार भएको देउडा प्रतियोगिता कार्यक्रममा वडा ६ का १० महिला टिममध्ये प्रथम तीन धारा महिला समूह, द्वितीय कालाशिल्ता महिला समूह र तृतीयमा चन्दनाथ महिला समूह विजेता भएको आयोजक तथा नेपाल अष्ट्रिया साँझेदारी संस्थाका डिचीन डोल्कार लामाले बताए । सोमबार वडा पाँचमा भएको उक्त प्रतियोगीतामा प्रथम शिव मन्दिर महिला, द्वितीय सूर्यमुखी महिला समूह र तृतीयमा पञ्चमुखी महिला समूह विजेता भएको लामाले जानकारी दिए ।

विजयी समूहलाई क्रमशः पहिलोलाई रु चार हजार, दोस्रोलाई तीन हजार र तोस्रोलाई दुई हजार ५०० पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *