पदाधिकारी नटुङ्ग्याइ सकिँदैछ माओवादी बैठक ?

काठमाडौँ । करिब दुई महिनाअघि ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अहिलेसम्म पदाधिकारीविहीनकै अवस्थामा छ । पदाधिकारी टुङ्ग्याउनेगरी गत शुक्रबारबाट केन्द्रीय समिति बैठक चलिरहेकाे छ । तर, याे बैठकले पनि पदाधिकारी टुङ्ग्याउनेमा माओवादी नेताहरू नै शङ्का गरिरहेका छन् । पुस ११ देखि १८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशन २४६ केन्द्रीय सदस्य मात्रै चुनेर सकिएकाे थियाे । त्यसपछि पदाधिकारीलाई पूर्णता दिनका लागि पुस १९ गते बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अनुमोदन गर्दै सकिएको थियो ।

त्यसयता केन्द्रीय पदाधिकारी टुङ्ग्याउनेगरी बसेको केन्द्रीय समितिको बैठक यही हो, जुन आजै सकिने नेताहरूले बताएका छन् । यो बैठकले पहिलो एजेन्डा थियो— केन्द्रीय पदाधिकारीलाई टुङ्ग्याउने । तर, यो बैठकले पनि विधानले तोकेबमोजिमको १५ सदस्यीय केन्द्रीय पदाधिकारी टुङ्ग्याउनेमा माओवादी नेताहरूले नै शङ्का व्यक्त गरिरहेका छन् । यद्यपि बैठक भने आजै सकिने नेताहरूले बताएका छन् । प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य देवप्रसाद गुरुङले भनेका छन्, ‘बैठकचाहिँ आजै सकिन्छ । केही वैचारिक तथा सैद्धान्तिक छलफलपछि आजै सकिन्छ बैठक ।’

याे बैठकले पदाधिकारी टुङ्ग्याउँदैन ?

२ महिना पदाधिकारीविहीन रहेको माओवादी केन्द्र पदाधिकारी टुङ्ग्याउने सन्दर्भमा अझै अनिर्णित छ । यो बैठकले पनि पदाधिकारी टुङ्ग्याउन नसक्ने नेताहरूकाे भनाइ छ । केन्द्रीय सदस्य देवप्रसाद गुरुङ थपछन्— ‘प्रयासचाहिँ हुन्छ, तर निश्चित छैन ।’

त्यसका लागि यथाशक्य प्रयास भइरहेको गुरुङको भनाइ छ । ‘यसमा सकेसम्म हामीले प्रयास गरिरहेका छौँ, नेतृत्वले प्रयास गरिरहनुभएको छ,’ गुरुङले भनेका छन्, ‘तर एक हिसाबले भन्ने हो भने गाह्रो भइरहेको छ । त्यो भएर निश्चित नभएको हो ।’

महासचिवका दाबेदारसमेत रहेका गुरुङ थप्छन्— ‘निश्चित पार्ने काम भइरहेको छ, मागदाबी गर्ने कमरेडहरूसँग कुराकानी भइरहेको छ भन्ने बुझेको छु ।’

अर्का केन्द्रीय सदस्य लीलामणि पोखरेल पनि पदाधिकारी टुङ्ग्याउने प्रयास भइरहेको भएपनि सकस रहेकाे बताउँछन् । ‘केन्द्रीय पदाधिकारी टुङ्ग्याउनका लागि प्रयास भइरहेको छ,’ पोखरेलले भनेका छन्, ‘अहिलेसम्म टुङ्गो लागेको छैन । टुङ्गाे लाग्छ भन्ने पनि भएकाे छैन । सायद गाह्रै हाेला नि ।’

आज सकिने बैठकले पदाधिकारी टुङ्ग्याउँछ त ? भन्ने प्रश्नमा पोखरेल भन्छन्— ‘थाहा छैन । प्रयास जारी रहनेछ । सकिन्छ वा सकिन्न भन्ने फिक्स भएन । सम्भवत: आजकाे बैठकले टुङ्ग्याउन नसक्ला कि, हेराैँला ।’

बिहानको बैठकमा किन जुटेन सहमति ?

केन्द्रीय समिति बैठक कसरी अन्त्य गर्ने भन्ने सन्दर्भमा माओवादी पूर्वस्थायी समिति बैठक बसेकाे थियाे । बैठकमा बैठक आजै सक्ने समझदारी बनेपनि केन्द्रीय पदाधिकारी टुङ्गिने विषयमा केही सहमति नभएकाे बैठकमा सहभागी एक नेताले बताए । उनकाअनुसार महासचिव पदका कारण सकस परिरहेकाे छ । ती नेताले भनेका छन्, ‘कसलाई कुन पदमा व्यवस्थापन गर्ने भन्ने विषयले सकस पार्‍याे । खासगरी महासचिव काे बन्ने भन्ने विषय नै पेचिलाे बनेकाे छ ।’

माओवादी केन्द्रले याे बैठकका लागि खासगरी ६ वटा एजेन्डा तय गरेकाे थियाे । त्यसमध्येका प्रमुख एजेन्डामा पदाधिकारी चयन नै थियाे । तर, अहिले आएर साे काम नगरी नै बैठक सकिन लागेकाे ती नेताले बताएका छन् । ‘यसलाई अब केही परसम्मै धकेल्ने लगभग सहमति बनेकाे छ पार्टीमा । अध्यक्ष कमरेड पनि यसमा लगभग मान्नुभएकाे छ । मलाई लाग्छ सायद पदाधिकारी आज पनि टुङ्गिँदैन ।’

यसबाहेक बैठकले सांगठानिक एजेन्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेन्डा राखेको थियो । तर, पटक-पटक सर्दै आएकाे याे बैठकमा पनि पदाधिकारी चयन टरेको छ । ती नेताले भनेका छन्, ‘बिहानको बैठकअनुसार हाे भने आजकाे बैठकले पनि पदाधिकारी पनि टुङ्ग्याउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =