विदेश घुम्न जान ५ लाख बैंक ब्यालेन्स चाहिने व्यवस्था कति सान्दर्भिक ?

काठमाडौँ । भिजिट भिसामा विदेश जानेले न्यूनतम पाँच लाख बैंक ब्यालेन्स देखाउनुपर्ने भएको छ । मानव तस्करी बढेपछि सरकारले यससम्बन्धी नयाँ कार्यविधि बनाई यसमा कडाइ गर्न लागेको हो ।

भिजिट भिसासम्बन्धी अध्ययन समितिले न्यूनतम वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदै विभिन्न सुझावहरू दिएको हो ।

के भन्छ सरकार ? 
भिजिट भिसामा विदेश जानेलाई वस्तुगत आधार तयार गर्न समितिले सिफारिस गरेको सिफारिस कार्यदलका संयोजक समेत रहेका गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । ‘कमाउने व्यक्ति मात्र घुम्न जाओस् भन्ने आधारमा हामीले वार्षिक १० लाख कमाउने र पाँच लाख बैंक ब्यालेन्स भएकालाई मात्र भिजिट भिसामा जान दिने कार्यविधि बनाउन भनेका हौँ,’ सहसचिव पोखरेलले भने, ‘नयाँ कार्यविधि बनाउने जिम्मेवारी अध्यागमन विभाग र श्रम विभागलाई दिइएको छ ।’

श्रमिकले विदेश गएर अलपत्र पर्नु हुँदैन भन्ने मान्यताका आधारमा यस्तो सिफारिस गरिएको उनको तर्क छ । ‘कोही विदेशमा अलपत्र नपरुन्, सही बाटो र प्रक्रियाबाट जान सकुन् भने यस्तो सिफारिस गर्नु परेको हो,’ प्रवक्ता खनालले भने, ‘पर्यटक हो भने पर्यटककै प्रक्रियाबाट अनि श्रमिक हो भने श्रमिककै प्रक्रियाबाट जान पर्छ भनेर यो व्यवस्था गर्न खोजिएको हो ।’ नेपालमा सरकारका उच्च पदमा रहेकै तलबले समेत नभ्याउने सिफारिस गरिएको बारे सोध्दा उनले भने, ‘घुम्न जानेले पैसा देखाउन सक्नु पर्छ । मसँग पैसा छैन भने मैले घुम्न रहर गरेर मात्र हुन्छ र ?’

भाषाको ज्ञान अनि पटकपटक विदेश गइसकेकाहरूका हकमा रोकावट नहुने पनि उनले बताए । केही दिनमा यो सिफारिससम्बन्धी कार्यविधि बनेपछि सो नियम लागु हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *