अर्को पुरुषसँग बोलेको भन्दै हत्या

विराटनगर । धरानमा गत मंगलवार होटलमा मृत फेला परेकी महिलाको अर्को पुरुषसँग बोलेको भन्दै हत्या भएको खुलेको छ । धरान १८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलाको मदिरा सेवनपछि अर्को पुरुषसँग बोलेको भन्दै हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले धनकुटाको पाख्रीवास ६ फलाटेका २४ वर्षीय जीवन भनिने विनेश रानामगरलाई धरानमा सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको भन्दै रानामगरलाई सार्वजनिक गरेको हो । होटलमा सँगै बसेकी इटहरी ५ मा डेरा गरि बस्ने ३८ वर्षीया सुमित्रा तामाङलाई दुईदिनसम्म राखेर मगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

पक्राउ परेका मगरलाई पाख्रिबास ११ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ परेका मगरमाथि ज्यान कसुरमा सुनसरी जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिसकेको छ ।

इटहरीमा सिटी चलाउने विनेश र सुमित्राको चिनजान इटहरीमै भएकोथियो । एक अर्कामा चिनजान हुँदै एकले अर्कोलाई मायाँ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामो समय इटहरी बसेका विनेश तीन महिनाअघि स्काभेटर सहायक अपरेटरमा भोजपुर गएका थिए ।

विनेश र सुमित्रा फागुन १५ गते धरानमा भेट भएको प्रहरी बताउँछ । लामो समय पछि भेटिएका उनीहरूले होटेलमा बस्ने सल्लाह गरेर नै त्यहाँ पुगेर १०९ नम्बरको कोठामा २ दिन सँगै बसेको एसपी थापा बताउँछन् ।

दुईदिनसम्म सँगै बसेका उनीहरूका बिचमा केही विवाद भएको प्रहरीको भनाई छ । त्यो बिचमा फोनमा अर्कै पुरुषसँग बोलेको बिषयमा दुवैबीच फागुन १६ गते राती झगडा भएको र कुटपिट गरि घाँटी चिथेर विनेशले सुमित्राको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । दुवैले मदिरा पिएको अवस्थामा राती आवेशमा आएर हत्या गरेको अनुसन्धानको क्रममा स्वीकारेको एसपी थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *