‘अर्ली ईलेक्सन’बारे गठबन्धन : एकीकृत समाजवादी पक्षमा, माओवादी भन्छ- ‘सम्भावना छैन’

काठमाडाैँ । अर्ली ईलेक्सनकाे विषय पुन: सतहमा आएकाे छ । आइतबार सत्ता गठबन्धनका नेताहरूले बाेलेसँगै अर्ली ईलेक्सनकाे विषय आएकाे हाे । नेताहरूले बाेलेपछि गठबन्धनभित्रै मत विभाजित भएकाे छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रले भने अर्ली ईलेक्सनलाई ‘असम्भव’ भनेकाे छ । नेता वर्षमान पुनले भनेका छन्—  ‘सामान्यतया: हाम्राे नेपालमा २ सिजनमा निर्वाचन हुने गरेकाे छ । कात्तिक, मंसिर र चैत्र, वैशाख र जेठसम्म । हरेक ५ वर्षमा संघीय, प्रदेश र स्थानीय चुनावहरू हुने गर्छ, संवैधानिक व्यवस्था यही छ । यसरी हेर्दा अर्ली ईलेक्सनकाे सम्भावना अहिले छैन । वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने भनेपछि हामीसँग समय नै हुँदैन । त्यसाे हुँदा स्वत: कात्तिक-मंसिर जान्छ । यद्यपि कानूनी रूपले, व्यवहारिक रूपले, संवैधानिक रूपले, परम्पराकाे रूपले मंसिरपछि ५ वर्ष संघीय सदन पुग्छ, त्यसपछि संसद् विघटन गर्न नमिल्ने हाेइन । तर, सम्भावना हुँदैन ।’

अर्काे घटक एकीकृत समाजवादीले भने अर्ली ईलेक्सनलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले भनेका छन्, ’केपी ओलीको एमालेले संसद् पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली ईलेक्सनमा जानु उत्तम हुन्छ भनेर कुरा आएको छ । संसद् नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ,’ अध्यक्ष नेपालले भनेका छन् ।

अर्ली ईलेक्सनको हल्ला चलिरहेको छ नि ? भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले भनेका छन्— ‘यसलाई स्वाभाविक रूपमा लिनुपर्छ÷मान्नुपर्छ । सदन चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले संसद्ले नै केपी ओलीको वितण्डा सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद् रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =