प्रेस काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाही गर्न सिफारिस

काठमाडाैँ । पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब)बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराइएको छ । त्यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले आज एक विज्ञप्ति मार्फत जनाएको छ ।

कुनै मिडियाअन्तर्गतआबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ ।

अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर, भिडिओ सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्षरविपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्नरनगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौँ’– काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने ।

यसैबिच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युुब च्यानल)हरूमा सम्प्रेषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

विज्ञप्तिः

सम्बन्धितः

साइबर ब्यूराेले भन्याे- सामाजिक सञ्जालमा अफवाह फैलाइ अनुसन्धान प्रभावित गरे कारबाही हुन्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *