प्यासको अघि पैसा केही होइन

चार करोडको श्रमदान गरेर पानी ल्याउँदैछन् पालुङटारवासी

गोरखा। गोरखाको पालुङटारमा अहिले सबैभन्दा ठूलो खानेपानी परियोजना कार्यान्वयनमा छ । ४१ करोड लागतमा १५ हजार भन्दा बढी नागरिकलाई पानी पुर्‍याउन नेपाल सरकारले खानेपानी आयोजना सञ्चालन गरेको हो ।

नगर क्षेत्रका १ देखि ६ नम्बर वडाका १५ हजार नागरिकलाई पानी पुग्ने गरी सुख्खाग्रस्त खानेपानी आयोजनाको काम हुँदैछ । यति ठूलो आयोजना समेत उपभोक्ता समिति मार्फत काम गराइएको छ भने १० प्रतिशत लागत सहभागिता उपभोक्ताबाट उठाउन लागिएको छ ।

सबैतिर उपभोक्ता समितिले योजनाको जिम्मा लिने र कमिसनमा ठेकेदारलाई सुम्पिने परम्परा पालुङटारमा भने उपभोक्ता समितिबाट पनि काम सम्भव छ भन्ने उदाहरण बनेको छ । ‘पाइपलाइन खन्न श्रमदान खोजेका छौँ । मुख्य पाइपलाइन होइन, घरमा लैजाने पाइप खरिद र कुलो खन्न श्रमदान प्रयोग गर्छौँ,’ नगरकी उपमेयर पम्फा बसेलले भनिन्, ‘पालुङटारमा श्रमदान निकै राम्रो रहेको र त्यही अनुभवले यो आयोजना सफल हुने विश्वास छ ।’

नेपाल सरकारकै मापदण्डका आधारमा जनश्रमदानमा आधारित परियोजना सञ्चालन गरिएको उनले बताइन् । १० प्रतिशत मध्ये १ प्रतिशत नगद लागत पालुङटार नगरपालिकाले ब्यहोरिदिएको छ । बाँकी ९ प्रतिशत उपभोक्ताको श्रममा जोडिने बसेलको भनाई छ । सिँचाइ, खानेपानी लगायतका योजनामा उपभोक्ताको सहभागिता निकै राम्रो रहेको उनले सुनाइन् । ‘स्टिमेट भन्दा बढी काम गरेको उदाहरण पनि छ । हामीले सडकमा लागत सहभागितामा काम गर्न सकेनौँ । अरूमा राम्रो उपस्थिति हुन्छ,’ उनले भनिन् ।

उपभोक्ता समितिका अध्यक्ष विमल ढकाल पानीको अभावले यति धेरै लागत साझेदारीमा काम गर्न लागेको बताउँछन् । ‘हाम्रोमा पानीको बेस्सरी अभाव छ । काकाकुल जस्तो भएर कति दिन गुजारा चलाउनु ? त्यही पीडाले मान्छे श्रम गर्न तयार छन्,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा अभाव रहेछ । पालुङटारमा पानीको अभाव छ । यति श्रम त गरिहाल्छन् नि !’ आयोजनामा ३० प्रतिशत भन्दा बढी काम भैसकेको छ । चालू आर्थिक वर्षदेखि सुरु भएको काम ३ वर्षमा सक्ने सरकारी लक्ष्य छ ।

हरेक काममा सरकारसँग निर्भर हुँदा कतिपय योजनाको गुणस्तर छैन । ‘आफ्नै घरअघि सडक बनेको छ, काम गर्न आउँदैनन् । घरमा धारा जोड्नु छ, मतलब गर्दैनन् । सबै काम सरकारले गरिदियोस् भन्छन्,’ उनले भने, ‘हाम्रो तिर त्यस्तो समस्या छैन । काम पर्दा जुट्ने र धुरिएर सम्पन्न गर्छन् ।’ त्यहाँ करिब १ सय किलोमिटर पाइप ओछ्याउनुपर्ने उनको भनाई छ । पानी वितरणका लागि ३ वटा ठूला लिफ्टिङ आयोजना मार्फत डाँडामा पानी लगिने छ ।

चेपेखोलाको दोभानबाट लिगलिगकोट, भुसुण्डेखोलाबाट खुर्पाजुङको डाँडा र मर्स्याङदीको किनारबाट देउपुरमा लिफ्टिङ मार्फत पानी पुर्‍याइने र त्यहाँबाट वितरणको योजना छ । ‘दुरीका हिसाबले धेरै टाढा र अग्ला डाँडा छन् । तीनवटै लिफ्टिङ आयोजना हो । अहिले बनेपछि अब ४० वर्ष पालुङटारमा अर्को योजना थप्नुपर्दैन,’ ढकाल भन्छन् ।

यो आयोजना बनेपछि २ हजार २ सय ५० घरधुरीमा पानी वितरण गर्न सकिन्छ । विभिन्न ठाउँमा ५० भन्दा बढी ट्याङ्की निर्माण हुँदैछ । आयोजनामा ९० प्रतिशत संघीय सरकारको लगानी छ । १ प्रतिशत नगद सहभागिता अन्तर्गतको ५८ लाख ५८ हजार रुपैयाँ नगरपालिकाले लगानी गरेको मेयर दीपकबाबु कँडेलले बताए ।

‘खानेपानी, सिँचाइ र सामुदायिक भवनमा श्रमदान सम्भव छ । हामीकहाँ २० प्रतिशतसम्म श्रमदान गरेका रेकर्ड छन् । सिँचाइमा त ३० प्रतिशतसम्म सहभागिता पनि छ,’ उनले भने, ‘अरू काममा श्रम जुटाउन सकिएन । दैनिकीसँग जोडिएका योजनामा नागरिकको राम्रो रेस्पोन्स छ ।’ पालिकाकै लगानीमा च्याङलीमा चामपानी खानेपानी आयोजना निर्माण गर्दा २० प्रतिशत श्रमदान जुटाएको उनले बताए । ६० लाखको उक्त आयोजनाबाट १ सय ४ घरधुरीले पानी पाएका छन् । अहिलेको आयोजनाबाट पालुङटारको खोप्लाङ, आँपपिपल, पालुङटार, गाईखुर र मिरकोटमा धारा जडान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *