यसरी बन्दैछ १०२७ किलोमिटरकाे मेची-काली ४ लेन राजमार्ग

काठमाडौँ । मेचीदेखि महाकालीसम्मको १ हजार २७ किलोमिटर लामो पूर्वपश्चिम (मेची-काली) राजमार्ग ४ लेनमा विस्तार गर्ने काम चलिरहेको छ ।

झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म तराई तथा भित्री मधेश हुँदै गएको यो राजमार्गलाई ७ वटा खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको हो । राजमार्गमा पर्ने बजार क्षेत्रमा ६ लेन (सर्भिस लेनसहित ८ लेन) र ग्रामीण तथा जंगल क्षेत्रमा ४ लेनको बनाउने गरी राजमार्ग विस्तारको काम भइरहेको सडक विभागले जनाएको छ ।

देशको सुदूरपूर्व र सुदूरपश्चिमलाई जोड्ने यो राजमार्ग देशको उत्तर र दक्षिणलाई जोड्न आधारमार्गको रुपमा पनि रहेको छ । देशको आर्थिक विकासका दृष्टिले समेत रणनीतिक मानिने यो राजमार्ग पूर्वी एसियालाई युरोपसम्म स्थलमार्गबाट जोड्ने सडक सञ्जालमा पनि समावेश छ । त्यस्तै, एसिएन रोड नेटवर्कमा नेपालको पूर्व-पश्चिमसहित केही उत्तर-दक्षिण मार्गसमेत परेकाले यसलाई अझ महत्वका साथ विस्तार गर्न लागिएको विभागले जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान सहयोगबाट दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य(सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत पाँचवटा खण्डमा काम भइरहेको छ । त्यस्तै, विश्व बैंकको सहयोगमा दुईवटा खण्डमा काम हुने भएको छ । यीनै खण्ड मध्येको एकमा भने अमेरिकी संस्था एमसीसीको अनुदान सहयोगको रकम समेत लगानी गर्ने भनिएको छ । यद्यपी, यो विषयले अझै पूर्णता पाइसकेको छैन ।

पूर्व-पश्चिम राजमार्ग विस्तारको सम्पूर्ण काम ७ वर्षसम्ममा सकिने प्रक्षेपण गरेर काम थालिएको सडक विभागले जनाएको छ । राष्ट्रिय राजमार्गलाई ४ लेनमा विस्तार गर्ने सरकारको नीति नै रहेकोले यो सडक विस्तार गर्न लागिएको हो । तर, अध्ययन, डिजाइन र ठेक्का प्रक्रिया पूरा गरी निर्माण पूरा गर्न थप १० वर्षसम्म लाग्न सक्ने देखिएको छ ।

काँकरभिट्टा -लौकही सप्तकोसीपूर्व (१ सय २० किलोमिटर) २०२२ भित्रै ठेक्का लाग्ने
यो खण्डमा राजमार्ग विस्तारको काम एडीबीको ऋण र अनुदान सहयोगमा भइरहेको छ । यो खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न ‘रोड डिजाइन’को काम सकिएको छ । यो सडकलाई निर्माणका लागि २०२२ भित्रै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको सडक आयोजना निर्देशनालय एडीबीका परियोजना निर्देशक सुशीलबाबु ढकालले बताए । एसिएन रोड नेटवर्कभित्र पर्ने भएकोले यो सडकलाई एसिएन स्ट्यान्डरको क्लास ‘ए’ स्तरमा निर्माण गर्ने गरी तयारी अघि बढेको छ ।

यो पनि : एमसीसी अनुदानबाट नेपालमा कुन कुन परियोजना बन्छन् ?

यो खण्डमा ६ वटा पुललाई सस्पेन्सन ल्याण्डमार्क ब्रिज बनाउने गरी डिजाइन भइरहेको छ । परामर्शदाता कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङले यो खण्डको डिजाइन गरेको हो । यो खण्डअन्तर्गत मिक्वा खोला, जुलिङ, रतुवा, कन्काई, महेन्द्रा र बक्राहा गरी ६ वटा नदीमा सस्पेन्सन ल्यान्डमार्क ब्रिज बनाउने गरी डिजाइन गरिएको छ । यही कम्पनीले यी खण्डमा सडक निर्माणका लागि ‘टेन्डर डकुमेन्ट’ तयार गर्न प्राविधिक सहयोग गर्ने र टेन्डर मूल्यांकनको काममा समेत परामर्शदाता कम्पनीले सघाउने सम्झौता भएको छ ।

कञ्चनपुर–कमला खण्ड (८७ किलोमिटर) निर्माणाधिन
कञ्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर खण्डमा एडीबीकै सहयोगमा राजमार्ग विस्तारको काम भइरहेको छ । यो खण्ड ४ लेनमा निर्माणधिन छ ।

कमला–पथलैया (१३० किलोमिटर) डिजाइन २०२२ भित्र तयार हुने
यो खण्डमा विश्व बैंकको झण्डै ५० अर्ब रुपैयाँको लगानीमा सञ्चालित ‘स्ट्राटेजिक रोड कनेक्टिभिटी एन्ड ट्रान्सपोर्ट इमप्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत काम भइरहेको छ । हाल यो खण्डमा डिजाइन निर्माणको काम भइरहेको छ । परामर्शदाता कम्पनी एप्टिसा स्पेन स्टुप इन्डिया जेभी कम्पनीले यो खण्डको डिजाइनको काम गरिरहेको छ ।

सन् २०२२ को डिसेम्बरभित्र आयोजनाको डिजाइन निर्माणको काम सकिने सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले मकालु खबरलाई जानकारी दिए । ‘हाल उक्त कम्पनीले फिल्ड सर्वेको काम गरिरहेको छ,’ उनले भने, ‘अब चाँडै सर्वे सकेर डिसेम्बर २०२२ भित्रै आयोजनाको डिजाइन तयार पार्ने छ ।’ डिजाइन प्राप्त भएको ३ महिनासम्म उक्त खण्ड निर्माणको ठेक्का प्रक्रियाका लागि डकुमेन्ट तयार गरि ठेक्का प्रक्रियामा प्रवेश गरिने उनले बताए ।

पथलैया-नारायणगढ (१२० किलोमिटर) डिजाइन हुँदै
यो खण्डमा पनि राजमार्ग डिजाइनको काम भइरहेको छ । अध्ययन सकेर आएका तथ्यका आधारमा सडक खण्डमा आवश्यक पुल, कल्भर्टलगायत संरचनाको अवस्था, नयाँ संरचनाको आवश्यकताको आधारमा नयाँ संरचना बनाउनुपर्ने र नपर्ने अध्ययन गरी डिजाइनको काम भइरहेको छ । ‘भइरहेका पुलहरु ५० वर्ष पुराना छन्,’ निर्देशक ढकालले भने, ‘ती पुल पनि प्रयोग गर्न मिल्छ कि नयाँ बनाउनुपर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।’

नारायणगढ-बुटबल खण्ड (११३ किलोमिटर) निर्माणाधीन
नारायणघाटदेखि बुटवलसम्मको ११३ किलोमिटर राजमार्गमा अहिले सडक विस्तारको काम भइरहेको छ । यो खण्डमा ठेक्का व्यवस्थापन सकेर निर्माण सुरु गरिएको हो । यो खण्डको निर्माण पनि एडीबीकै सहयोगमा भइरहेको छ ।

बुटबल-गोरुसिंगे खण्ड (५० किलोमिटर) डिजाइन हुँदै
यो खण्डमा एसियाली विकास बैंककै ऋण सहयोगमा डिजाइन निर्माण गर्ने काम भइरहेको छ । डिजाइन सकिनासाथ सडक विस्तार सुरु गर्न खरिद प्रक्रिया सुरु गर्ने तयारी छ ।
एमसीसीबाट दाङको भालुवाङदेखि शिवाखोला र भालुवाङदेखि धानखोलासम्मको ७७ किलोमिटर सडक निर्माण गर्ने भनिएको छ । एमसीसी अनुदानमा एमसीए नेपालले निर्माण गर्ने भनिएको सडक खण्डमा दाङको भालुवाङदेखि पश्चिम शिवाखोलासम्म र अन्य गरी ७७ किलोमिटर सडक निर्माण गर्ने योजना छ । यद्यपी यो विषयले मूर्त रुप पाउन बाँकी छ ।

गोरुसिंगे-गड्डा चौकी खण्ड (३९० किलोमिटर) विश्व बैंकले सम्भाव्यता अध्ययन गर्ने
गोरुसिंगेदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको ३ सय ९० किलोमिटर सडक विस्तारको सम्भाव्यता अध्ययन भने विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति भएको छ । सम्भाव्यता अध्ययनको काम सकिएपछि मात्र बाँकी काम अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *