‘फल्चाकाे जग्गा’मा पाँचतले भवन बनाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २७ को भवन निर्माण विवादित भएको छ । माघ २३ गते ज्याठास्थित छुस्या वहालमा शिलान्यास गरिएको वडा कार्यालयको भवनले सम्पदा मास्न लागेको भन्दै स्थानीय बासिन्दा र सम्पदाप्रेमीहरूले विराेध गरेका हुन् ।

पुरातात्विक महत्व बोकेको छुस्या महाविहार (गुणकर महाविहार) को जग्गामा आधुनिक सुविधा सहितको वडा कार्यालय भवन निर्माण गर्न लागिएको र यसो गर्नु कानुन विपरीत भएको स्थानीय बासिन्दाले बताए ।

महाविहार वि.सं १७०६ मा निर्माण शुरू गरेर १८ वर्षपछि प्रताप मल्लले उद्घाटन गरेको रत्न बज्राचार्यले लेखेको किताब ‘द गुनाकर विहार’ मा उल्लेख गरिएको छ । करिब ३ सय ७० वर्ष पुरानो विहारको अगाडी रहेको वयलाछी फल्चा रहेको जग्गामा आधुनिक भवन बनाउन लागेकोमा स्थानीय बासिन्दा को विराेध छ ।

वयलाछी फल्चा सय वर्षअघि भत्किएको र त्यही फल्चा भएको जग्गाको कित्ता नम्बर २१३१ मा कानुन विपरीत भवन आधुनिक भवन बनाउन लागेको स्थानीय बासिन्दाको आरोप छ । ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा पुरातात्विक सम्पदाको पुनःनिर्माण नगरी आधुनिक भवन बनाउनुलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पनि गैर-कानुनी हुने अभियन्ता आलोकसिद्धि तुलाधरले बताए ।

भत्किएको फल्चा रहेको स्थानमा हराहर लोकेश्वरको मूर्ति स्थापना गरेको नेपाल संवत् ७८८ ज्येष्ठ कृष्ण नवमीको शिलालेखमा उल्लेख गरिएको छ । उक्त शिलालेखको भावानुवाद आफूसँग रहेको सम्पदा संरक्षण अभियन्ता तुलाधारले बताए ।

कानुनी लडाइँ लड्ने तयारी
पुरातत्व विभागमा २५ वर्ष अभिलेख विशेषज्ञ भएर काम गरेका सिद्धिरत्न शाक्यले महाविहारको फल्चा रहेको स्थानमा कुनै पनि आधुनिक भवन बनाउन नपाईने दावी गरे । कानुनले शिलालेखलाई बलियो प्रमाणको रूपमा मान्ने भएकाले कानुनी बाटो अपनाएर भएपनि वडा कार्यालय भवन निर्माण रोक्नुपर्ने शाक्यले बताए ।

उनले विहारमा रहेको शिलालेखमा ‘ध्वाकाबहाः बस्ने गुणज्योती बज्राचार्य र श्रीमतीहरू पद्मनिल, लक्ष्मी, हेरमती, छोरो धनसिंह, बुहारी मनाहरी, नाति परिखदेव, नातिनी वुहारी धनवती र बहिनी शीलावतीले उक्त विहार निर्माण गरी अगाडिको जग्गा फल्चाको रूपमा दान दिएको हो’ भन्ने कुरा लेखिएको जानकारी दिए । उक्त विहारमा तान्त्रिक विधिद्वारा पूजा गरिन्छ । विहारमा रहेका शिखरशैलीका चैत्य नेपालभरी जम्मा ३ वटा मात्र छन् । सम्पदा संरक्षणमा गरिएको यो बेवास्ताले उक्त चैत्यको संरक्षणको सन्दर्भमा समेत प्रश्न चिह्न उठाएको अभियन्ता तुलाधर बताउँछन् ।

पहिले फल्चा रहेको उक्त जग्गाको लालपुर्जा थिएन । तर २०६८ सालमा फल्चाको जग्गा ज्याठा युवा क्लव र एक बिद्यालयको नाममा पास गरेको लालपुर्जा फेला परेको छ । गैर कानुनी तवरले उक्त जग्गा संस्थाको नाममा गरि ब्यक्तीको नाममा समेत पु¥याउँन सजिलो बनाई वडाले भवन बनाउँन लागेको अभियन्ता तुलाधरले जानकारी दिए ।

वडा कार्यालय बनाएरै छोड्ने वडाध्यक्षको दावी
काठमाडौँ महानगरपालिकाले २०७४ सालमा काठमाडौँका ३२ वटै वडाको कार्यालय बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आफुहरूले वडा नं २७ मा भवन बनाउने खाली ठाउँ नभेटेपछि अहिलेको ठाउँमा वडा कार्यालयको भवन बनाउन लागेको वडाध्यक्ष चिनियामान बज्राचार्यको भनाइ छ ।

उनले आफूहरूले क्लवसँग लालपुर्जा भएपछि उसैसँग समन्वय गरेर भवन बनाउन लागेको र यसमा जसले विरोध गरे पनि केही फरक नपर्ने बताए । बज्राचार्यले वडाले गरेको कामलाई असफल पार्न केही स्थानीयबासिन्दा र अभियन्ता लागि परेको आरोप पनि लगाए । उनले आफूहरूले भवन बनाउन लागेको जग्गा विहारको जग्गा भएको कित्तामा नै नपर्ने समेत दावी गरे ।

वडा कार्यालय भवन ५ तले बनाउन लागेको र २ तला क्लबलाई दिई ३ तला वडाले प्रयोग गर्ने बताए । उनले थपेँ, ‘हामी भवन मल्लकालीन शैलीमा नै बनाउँछौँ ।’ वडा कार्यालय भवनको निर्माणको ठेक्का २ करोड ८० लाख ८१ हजारमा प्रष्ठिा–रमिता–अम्बुजा जेबीले पाइसकेको छ ।

निर्माण तत्काल रोक्न पुरातत्व विभागको पत्राचार
पुरातात्विक महत्वको सम्पदा रहेको स्थानमा आधुनिक भवन बनाउन लागेको भन्दै स्थानियवासीन्दा र अभियानताले पुरातत्व विभागमा निवेदन दिएका थिए ।

त्यसपछि बिभागले छुस्याबहालमा निर्माण हुन लागेको आधुनिक भवनतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै वडालाई पत्राचार गरेको छ । पत्राचारमा उक्त कार्य कसले गर्न लागेको हो ?, के कस्तो संरचना निर्माण गर्न लागेको हो ?, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बिहारसँगै निर्माण हुँने संरचनाले सम्पदाको महत्व मा कस्तो असर पर्छ अथवा कुनै असर पर्दैन ?, र वडासँगको समन्वयमा भवन बनाउन लागिएको हो वा होइन ? यथाशीघ्र विभागलाई जानकारी गराई उल्लेखित विषयमा स्पष्ट नभएसम्म निर्माणमा रोक लगाउन अनुरोध गरेको छ ।

विभागले माघ २७ गते पत्र पठाएपनि निर्माणको काम भने रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *