राम्रो निद्राको लागि मस्तिष्कलाई कसरी बानी पार्ने ?

अहिले निद्रासम्बन्धी समस्या विश्वव्यापी भइसकेको छ । सजिलैसँग निद्रा लाग्नु भनेको ठूलो उपलब्धि जस्तै मान्नुपर्ने अवस्था आएको छ । हाम्रा पुर्खा जस्तै सूर्य अस्ताएपछि सुत्ने र सूर्य उदाउने बित्तिकै ब्युँझने हाम्रो प्राकृतिक लयलाई हामीले विभिन्न डिजिटल स्क्रिनबाट आउने हानिकारक किरणमार्फत विस्थापन गरिसकेका छौ ।

हामीलाई अब हाम्रा पुर्खाले जस्तै गरी निदाउन केही मेहनत गर्नुपर्ने अवस्था आएको छ । हामीले राम्रो निद्राको लागि आफ्नो मस्तिष्कलाई तालिम दिनुपर्ने विज्ञहरू बताउँछन् । निद्रालाई आफ्नो अवस्थाअनुसार अनुकूलन गराउन मिल्ने उनीहरू बताउँछन् । सही समयमा निदाउन मस्तिष्कलाई यसरी तालिम दिन सकिन्छ ।

तालिका बनाउने र कडाइका साथ पालना गर्ने
मेलाटोनिन एक हर्मोन हो जुन निद्रा लाग्ने र ब्युँझने प्रक्रियालाई नियमित गर्न मानव शरीरमा उत्पादन भएको हुन्छ । जब साँझ पर्दै जान्छ मेलाटोनिनको मात्रा बढ्दै जान्छ र निद्रा लागेको महसुस हुन थाल्छ । यही संकेतको आधारमा सुत्ने तालिका बनाउनुपर्छ । मेलाटोनिनलाई प्रकाशले रोक्छ ।

त्यसैले जब उज्यालो हुन्छ निद्रा आफै हराउँदै जान्छ । यो प्रक्रियाले राम्रोसँग काम गर्न सुत्ने समय परिवर्तन भइराख्नु हुँदैन । किनभने सुत्ने समय परिवर्तन भइरहँदा शरीरले कसरी प्रतिक्रिया जनाउने भन्ने नै थाहा हुँदैन । त्यसैले सप्ताहान्त, बिदा र राती धेरै निद्रा नलागे पनि उठ्ने समय एउटै बनाउनुपर्छ । जसले गर्दा अर्कोदिन फेरी समयमै निद्रा लाग्न थाल्छ । निद्राको समयमा नियन्त्रण नहुने भएकाले ब्युँझँदा निद्राबारे योजना बनाउनुपर्छ । जसले गर्दा काम गर्न जाँगर चल्छ र शरीरमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ ।

निद्रा लागेपछि मात्र ओछ्यानमा जाने
राम्रो निद्राको लागि निद्रा लागेपछि मात्र ओछ्यानमा जानु हो । मानिस सुत्न बाहेक अरू समयमा पनि ओछ्यानमा जाने, पल्टिने र समय बिताउने गर्छन् यसले निद्राको तालिकालाई असर गर्छ । यदि निद्रा लागेपछि मात्र अर्थात् सुत्न ओछ्यानमा जाने हो भने मस्तिष्कले त्यसैअनुसार निदाउन मद्दत गर्छ ।

निद्रा बारेको आफ्नो दृष्टिकोणमा परिवर्तन गर्ने
धेरै व्यक्तिले आफ्ना विभिन्न कामहरू, खेलकुद, टेलिभिजन हेर्ने लगायत सकिएपछि अन्तिम कामको रूपमा सुत्ने कामलाई लिएको पाइन्छ । सुताईसम्बन्धी यो दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी छ । सुन्दा यो सानो कुरा जस्तो लाग्छ तर सही निद्राको लागि यसको ठूलो भूमिका रहेको हुन्छ । एक वयस्क व्यक्तिलाई रातमा ८ घण्टा सुत्न आवश्यक छ भने उसले बेलुकाको ११ बजेसम्म सुतिसक्नुपर्छ ।

चाहे उ जति नै महत्त्वपूर्ण काममा किन नहोस् । किनभने पर्याप्त निद्रा स्वस्थ रहन पहिलो प्राथमिकताको विषय हो । हामी कुनै टेलिभिजन, युट्युबमा चलचित्र, सिरिजहरू हेर्न थाल्यौँ र सकिएपछि मात्र सुत्ने भन्न थाल्यौँ भने यसले हाम्रो निद्राको चक्रलाई नकारात्मक प्रभाव पार्न थाल्छ । त्यसैले सबै काम सकिएपछि वा केही काम नहुँदा मात्र निदाउनुपर्छ भन्ने सोचलाई बदल्न आवश्यक छ ।

सिएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *