सङ्घीयतामा विकास विकेन्द्रित हुन्छ : मुख्यमन्त्री राई     

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासका कार्य विकेन्द्रित हुने बताएका छन् । प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ शाखाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित आर्थिक सम्मेलनमा उनले प्रदेशको निर्माणका कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाहीरुपमा भइरहेको धारणा व्यक्त गरे ।

सङ्घीयताको सुन्दर पक्ष नै मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु भएको र अहिले नै प्रदेशको मूल्याङ्कन गर्ने समय नभएको चर्चा गर्दै मुख्यमन्त्री राईले शून्यको अवस्थाबाट सुरु भएको प्रदेश सरकारलाई केन्द्रीय सरकारले दिने अनुदान, राजस्व बाँडफाँट र राजस्व सङ्कलनको क्षेत्र सीमित हुँदा जनचाहनाअनुसार सोचिएको कार्य गर्न नसकिएको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले उचित व्यवस्थापन नभएका कारण मुलुकमा तरलताको अवस्था सिर्जना भएको भन्दै सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने विचार राखे। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विगत छ/सात महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अत्यधिक भएका कारण आर्थिक समस्या उत्पन्न भएको बताए।

उनले ठूला उद्योगी र व्यापारीलाई कर्जा लिन केही समस्या भएको महसुस भएको चर्चा गर्दै बजार सहज होस् भन्नका लागि राष्ट्र बैंकको रु ३२६ अर्ब रकम बैंकलाई चलाउनु दिएको जानकारी दिए । उनले अर्थतन्त्रमा उतार चढावका समयमा उद्योगी र व्यापारीलाई सरकारलाई सहयोग गर्न आग्रह गरे।

अर्थ सचिव मधु मरासिनीले पुँजीगत खर्च केही कम भए पनि समग्रमा ४० प्रतिशत खर्च भएको जानकारी दिँदै नेपाली बजारको ठूलो क्रेता भनेको नेपाल सरकार नै हो भने । उनले आगामी असार मसान्तसम्म अर्थतन्त्रमा केही उतारचढाव भए पनि समस्याग्रस्त भने नहुने विश्वास दिलाए ।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस क्षेत्रमा औद्योगिक ग्राम स्थापना भए नागरिकको आयआर्जन वृद्धि हुनाले यसका आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रदेश लगानी बोर्डका कार्यकारी अधिकृत सरोज कोइराला, पूर्वअर्थसचिव रामेश्वर खनालले भारतीय पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्नुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छा, बाह्रखरी मिडियाका सम्पादक प्रतीक प्रधान, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र उद्योग सङ्गठनका जिल्ला अध्यक्ष सुयश प्याकुरेलले भारत र बङ्गलादेशको उपभोक्तालाई ध्यानमा राखी औद्योगिक उत्पादन र पर्यटन क्षेत्र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा मुख्यमन्त्री राईले औद्योगिक सर्वेक्षण तथ्याङ्क पुस्ताको विमोचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =