उपमेयरसहित ८ जनाविरुद्ध आर्थिक अनियमितताको आरोपपत्र दायर

पोखरा । बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्कासहित ८ जनालाई आर्थिक अनियमितताको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि सहित, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

बागलुङ बसपार्क निर्माणका क्रममा काम नै नभएको ठाउँमा पनि काम भएको भनी आर्थिक अनियमितता गरिएको आरोप उनीहरूमाथि छ । अख्तियारले लामो अनुसन्धानपछि दावगरा बसपार्क निर्माण योजनामा फरफारक भएको भन्दा कम काम गरिएको निष्कर्ष निकालेको छ । अर्थवर्क एक्जाभेसनमा कम काम गरेको, स्टोन सोलिङ, पिसीसीको काम फिल्डमा नदेखिएको र कम्प्याक्सन तर्फको काम नगरिएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले यो सबै काम सकिएको रिपोर्ट दिएका थिए । हुँदै नभएको काममा ५ लाख ९० हजार ५ सय रुपैयाँ सरकारले भुक्तानी गरेको थियो । नगरपालिकाका सबइन्जिनियर घनश्याम रिजाल र इन्जिनियर मनोज शर्माले फिल्डमा नभएको तथा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन चढाएको आरोप छ ।

प्राविधिक प्रमुख सिनियर डिभिजनल इन्जिनियर दयाराम अधिकारीले नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारिस गरेको भन्दै उनीहरूलाई सजायको मागदाबी गरिएको छ । बागलुङ ४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले वडाबाट अनुगमन प्रतिवेदन सन्तोषजनक रूपमा सम्पन्न भएको भनेर प्रतिवेदनलाई सदर गरेका थिए । नगर उपप्रमुख सुरेन्द्र खड्का र इन्जिनियर मनोज शर्माले अनुगमन नै नगरी इन्जिनियरहरूले ल्याएको फाइल सदर गरेका थिए ।

यस्तै, बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाष चन्द्र राजभण्डारी, कोषाध्यक्ष भीम कुमारी आचार्य र सचिव गुणनिधि शर्मालाई फिल्डमा भए गरेको कामहरू वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गर्ने र कार्यसम्पन्न भएको भनी सम्झौता विपरीत काम गरेर बढी भुक्तानी लिएको आरोप छ । उनीहरूसँग नोक्सानी भएको रकमको बिगो माग गरिएको छ । ८ जना विरुद्ध नै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *