बुबाको किरिया बसेकी कृपा भन्छिन्- विभेद अन्त्यको सुरुवात गरेँ

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा छोरीले आफ्ना बुबाको काजकिरिया गरिरहेकी छन् । म्याङ्लुङ नगरपालिका-२ का लेखनाथ ढुङ्गानाको फागुन २ गते सोमबार निधन भएपछि उनकी छोरी कृपा  किरिया बसेकी हुन् । उनी कक्षा १२ मा अध्ययनरत छिन् ।

छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै कृपा बुबाको काजकिरिया गरिरहेकी छन् । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफू किरिया बसेको कृपाले बताइन् । ‘छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ,’ उनले भनिन्, ‘त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौँ भन्ने सन्देश समाजमा दिन पनि काजकिरिया गरिरहेको हुँ ।’

कतिपय आफन्त र छरछिमेकी  किरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई राख्ने तयारी गरेको तर छोरी भएकैले आफ्ना बुबाआमाको काजकिरिया गर्न नपाउने कुरा गलत हो भन्ने सन्देश दिनका लागि पनि आफू नै किरियामा बसेको उनको भनाइ छ ।

छोरा नभई वैतरणी तर्न सकिन्न र स्वर्ग पुगिन्न भन्ने कतिपय ब्यक्तिको मान्यताकाबीच कृपाको आँट र अठाेटको सबैले प्रसंशा गरेका छन् । एउटा उदाहरणीय काम बन्न पुगेको यस घट्नाले सदियौँ देखिको अन्धविश्वास र विभेदपूर्ण मूल्यमान्यतालाई ठाडो चुनौती दिएको समाजका अगुवाहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *