रजस्वला हुँदा शौचालय प्रयोग गर्न रोक

मार्तडी । जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाइनन् । छाउ भएका बेला उनी बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्थिन् ।

घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जङ्गलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो थियो । छाउ भएका महिलाले शौचालय प्रयोग नमिल्ले मान्यता रही आएकाले गर्दा धामी झाक्रीले पनि यसै कुरालाई प्रश्चय दिँदै आएको उनको भनाइ थियो ।

उक्त वडाका अधिकांश महिलाले पनि छाउ भएका बेला गोठमै बस्ने र शौचालय प्रयोग गर्न नपाउने गरेको पाइएको छ । छाउ भएका बेला घरभित्र बस्दा देउता रिसाउने र गाईभैँसीले दूध दिन छोड्नेजस्ता कुसंस्कार रही आएकाले महिलालाई घरभित्र बस्न नदिने गरिएको नाम नबताउने एक महिलाको गुनासो थियो ।

उनका अनुसार परम्परादेखि मान्दै आएको प्रचलनलाई तोड्न सकिएको छैन। उक्त वडालाई छाउ गोठमुक्त घोषणाका लागि अनुगमनका क्रममा सम्बद्ध महिलाले आफ्ना समस्या दर्साएका थिए । धार्मिक परम्पराअनुसार महिला छाउ भएपछि घरभन्दा पर बस्नुपर्ने पोषिलो खानेकुरा खान नहुनेजस्ता प्रचलन अझै व्याप्त छ । वर्षाको समयमा त छाउ भएको बेला झनै बस्न गारो हुन्थ्यो भने हिँउदको समयमासमेत छाउगोठमा बस्न निकै समस्या हुने गरेको गौरीले बताए ।

उनले भने, ‘भुईंमा सुत्नुपर्छ, चिसोले सारै सताउछ, असुरक्षित महसुस हुन्छ, कीराफट्ग्रा र सर्पको निकै डर लाग्छ, आफ्नो समुदायका सबै यही छाउगोठमा आउँछौँ र पराल विछ्याएर सुत्छौ ।’

गौरीले छाउ गोठमा बस्नुमात्र समस्या होइन शौचालयसमेत प्रयोग गर्न नपाउनु आर्को समस्या भएको बताइन् । दिनमा शौच लागे दिसापिसाब च्यापेर रातिसम्म पर्खनुपछर्, कुसंस्कारलाई हटाउन त हामी चाहान्छौँ तर घरका पुराना मान्छेहरू मान्दैनन् परिवर्तन गर्न खोजे झन उल्टै रिसाउने र डर तथा धम्की दिने गरेको उनकाे गुनासो थियो ।

ऐडिबाडाकी एक महिलाले पहिलैदेखि देवता मान्दै आएका र छाउ भएको बेला नछुट्टिए देवता लाग्ने डरले हामीले छाउगोठमै बस्ने गरेको बताउनुभयो । उनले यो प्रथा हटाउन त मन भए पनि हामीले देवताका डरले अहिलेसम्म हटाउन सकेका छैनौँ भने ।

छाउगोठ शिक्षितकै घरमा पनि भेटिएका छन् । उक्त वडामा बढीजसो कर्मचारी र सुरक्षाकर्मीका घरमा छाउगोठ देखिएको थियो । नगरपालिकाको छाउपडी गोठमुक्त अभियानअन्तर्गत वडा नं ८ मा यही फागुन २४ गते छाउगोठमुक्त वडा घोषण गर्ने तयारी गरेको पनि घोषणा चुनौतीको विषय भएको बताइएको छ ।

दश छाउ गोठ भेटिए

नगरपालिकालाई नै २०७८ सालभित्र छाउपडी गोठमुक्त गर्ने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत आइतबार सरोकारवाला निकायले वडा नं ८ मा अनुगमनका क्रममा १० छाउगोठ भेटिएकाले अभियानले सार्थकता पाउन कठिन भएको हो । पालिकाको अभियानमा सरोकारवाला निकाय र प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए पनि महिलाको मनबाट भने छाउपडी प्रथा अझै हट्न सकेको छैन ।

सदरमुकामकै वडामा छाउगोठ बढी रहेको पाइएको छ । सो वडामा बढीजसो सामूहिक छाउगोठ भेटिएका र छाउ भएको बेला महिला आफ्नो घरमा छाउगोठ नभए जसको छाउगोठ छ, त्यसैको घरमा गएर बस्ने गरेको भेटिएको छ । सदरमुकाम मार्तडीकै वडामा छाउगोठ भेटिएपछि घोषणा प्रक्रिया अगाडि बढाउन कठिन भएको अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख कविता विष्टले बताइन् ।

उनले नगरपालिकाले छाउ गोठमुक्त अभियानका लागि महिलासँग उपप्रमुख कार्यक्रम अघि सार्दै अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिइन् ।

स्थानीयवासीलाई छाउगोठमा बस्दा हुने विभिन्न खालका घटनाबारे सचेत गराउनाका साथै जागरण अभियानमा लाग्न अग्रसर हुने गरी कार्यक्रम ल्याइएको उपप्रमुख विष्टले बताइन् ।

अनुगमन टोलीका सदस्य सोही वडाका अध्यक्ष प्रकाश रावलले कुनै पनि व्यक्तिको घरमा छाउगोठ भेटिए राज्यले दिने सेवा सुविधाबाट वञ्चित गरिने जानकारी दिइन् । अभियानलाई सफल बनाउन समुदायस्तरका महिला नै जागरुक हुनुपर्नेमा उनले जोड दिइन् ।

छाउ गोठमुक्त वडा घोषणा गर्ने लक्ष्य तत्काल पूरा नहुने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताइन् । छाउगोठमुक्त बनाउन गाउँमै चरणबद्धरूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उनले यसलाई चुनौतीका रूपमा पनि लिइएको उल्लेख गरिन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *