सत्ता गठबन्धन दलले कार्यकर्तालाई ढुंगा हान्न लगाए : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौँ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफैँ रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् ।
ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारूढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।
बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेर जानकारी लिएको समेत उनले बताए । प्रहरीलाई सरकारले प्रदर्शनलाई रोक्ने अधिकार नदिएको समेत ओलीले बताए । त्यस्तै, उनले इतिहासको गौरवलाई मास्न नदिने र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने स्पष्ट पारे ।
कार्यक्रममा बरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, उत्तम बहादुर राउत, केदार पनेरू, डा. सुनिता थापा, कविराज गिरी लगायत १३ जनाले पृथ्वी नारायण, काजी कालु पाण्डे लगाएतसँग सम्बन्धित शीर्षकमा कविता वाचन गरेका थिए ।








