जसपा विवाद ज्यूँका त्यूँ, बाेलाइयाे कार्यकारिणी बैठक

काठमाडाैँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समितिकाे बैठक आह्वान गरेकाे छ । पार्टी कार्यालय बालकुमारीमा फागुन १३ गते बिहान ११ बजे बस्नेगरी बैठक बाेलाइएकाे हाे ।
बैठकमा समसामयिक विषयमा छलफल हुने नेता राम सहायप्रसाद यादवले बताए । उनकाअनुसार बैठकमा संसद्मा टेबुल भएकाे एमसीसी, पार्टीभित्रकाे आन्तरिक विवादलगायतका बारेमा छलफल हुनेछ । उनले भनेका छन्— ‘बैठकमा राष्ट्रिय राजनीतिबारे विशेष छलफल हुन्छ ।’
गत माघ १२ मा भएकाे राष्ट्रिय सभा निर्वाचनयता जसपा विवाद झनै बढ्दाे छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच आन्तरिक विवाद चर्किँदा जसपा एकजुट हुन सकेकाे छैन । भट्टराई पक्षले यादवले एकलाैटी रूपमा पार्टी सञ्चालन गरेकाे आराेप लगाउँदै आएकाे छ ।
यस्तै संसद्मा फागुन ८ गते संसद्मा टेबुल भएकाे एमसीसीबारेमा पनि भट्टराई-यादवबीच मतैक्य छैन । यसमा भट्टराईले नेपाली कांग्रेसकाे साथ लिएका छन् भने यादव माओवादी केन्द्र र एकीकृत समाजवादीकाे कित्तामा उभिएका छन् ।
भट्टराई पक्षले आसन्न स्थानीय तहकाे निर्वाचनमा समेत यादव पक्षले एकलाैटी रूपमा जान खाेजेकाे आराेप लगाएकाे छ । भट्टराई पक्षले यसअघि नै पनि कार्यकारिणी समिति बैठककाे माग गरेकाे थियाे । ३५ सदस्यीय कार्यकारिणी समितिमा आफ्नाे पक्षकाे बहुमत रहेकाे भट्टराई पक्षले दाबी गर्दै आएकाे छ ।








