भारतीय गाडी सहजै आउने, नेपाली गाडी जान नपाउने !

विराटनगर । नेपाली र भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्दा र भारत प्रवेश गर्दा फरक खालको व्यवहार गरिन्छ । नेपाली सवारी साधन सहज रूपमा भारत लैजान मिल्दैन तर भारतीय सवारी साधन सहजै नेपाल आएर निर्वाध घुमिरहेका हुन्छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने जुनसुकै सवारी साधनले गाडीको अनरसिप (बिलबुक)लाई नेपालको भन्सारले आधार मान्छ । त्यसैको आधारमा नेपाली भन्सारले कागज बनाउँदा लाईसेन्स नम्बर, चेसिस र इन्जिन नम्बर हालेर पठाउने गरेको छ ।

नेपालबाट भारततर्फ नेपाली नम्बर प्लेटका सवारी साधन लैजान निक्कै झण्झट ब्यहोर्नुपर्छ। रेल्वेसम्मको पहुँच भएपनि त्यहाँबाट उता जानु पर्दा दूतावासको स्वीकृत लिनुपर्छ ।

नेपालतर्फको सीमा नजिकको बजारसम्म र भारतको पहिलो रेल्वे स्टेशनसम्म जान कुनै रकम नलाग्ने र सहज आवागमन हुनुपर्ने सहमति नेपाल र भारतबीच भएको छ। त्यसैअनुुसार सहज रूपमा आवागमन गर्ने गरिए पनि त्यो भन्दा बाहिर जानु पर्दा नेपाली सवारी साधनले सहज अनुमति पाउनै सक्दैनन् ।

नेपालबाट कुनै सवारी साधन भारतको जुनसुकै प्रदेशमा जानलाई पहिला भारतीय दूतावासबाट अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था छ । विराटनगर र नेपालगञ्जमा यस अघि राखिएका महावाणिज्य दूतावासमार्फत यस्तो अनुमति दिने गरेकोमा अहिले यसका लागि काठमाडौँ पुग्नुपर्ने अवस्था छ ।

विराटनगरबाट कुनै सवारी साधन दिल्ली जानु पर्यो भने काठमाडौँमा रहेको भारतीय दूतावासबाट अनुमति लिएर मात्र जान पाइने र अनुमति लिन पनि सहज नभएको व्यावसायीको भनाइ छ। उद्योगी प्रदिप मुरारका नेपाली सवारी साधनलालई रेल्वे स्टेसनसम्म जान समस्या नभएपनि लामो रुटमा जानका लागि समस्या रहेको बताउँछन् । नेपाली नम्बर प्लेटका सवारी साधन भारतका जुनसुकै राज्यमा जान पनि भारतीय दूतावासबाट स्वीकृती लिनु पर्ने झण्झटिलो प्रक्रिया रहेको उनले बताए ।

‘हामीले हाम्रो आवश्यकताको कुरा गर्नु पर्छ, हामी व्यवसायीको आवश्यकता सहज रूपमा नेपालमा भारतीय नम्बरका मालबाहक सवारी उद्योगसम्म पुग्न पाउनु पर्छ भन्ने हो’, उनले भने, ‘भारतीय नम्बरका गाडी जसरी सहज रूपमा नेपाल प्रवेश पाउँछन् त्यही अनुसार नेपाली सवारी साधनले पनि भारतमा प्रवेश पाउनु पर्छ ।’

दुतावास जानुपर्ने झण्झट हटाएर भन्सार नाकाबाट नै अनुमति दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। ‘दूतावासबाट अनुमति लिनकालागि बैँक ग्यारेन्टी, ईन्स्योरेन्स लगायतका थुप्रै समस्या छन्, उनले भने, त्यस्तो अवस्थामा नागरिकको सहज पहुँच पुग्दैन भारत तर्फ जाने नेपाली सवारी साधनलाई पनि नेपाल आउने सवारी साधनकै सरह सुविधा दिइनुपर्छ ।’

दूतावासबाट अनुमति लिन बैँक ग्यारेन्टी, ईन्स्योरेन्स लगायतका प्रावधान पूरा गर्नुपर्ने अवस्था छ । विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी रामचन्द्र ढुंगानाले नेपाली सवारी साधनको हकमा समस्या रहेको बताए । ‘भारतीय नम्बर प्लेटका सवारी साधन हामीले भन्सार नजिकैको पहिलो बजार जानको लागि सहजै अनुमति दिने गरेका छौँ’, उनले भने, ‘बस, जीप, कार, मोटरसाईकल, ट्रक लगायतका सवारी साधनहरूलाई दैनिक राजश्व तिरेपछि भन्सारबाटै अनुमति दिएर पठाउँछाैँ ।’

नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनले ३० दिनसम्म नेपाल बस्न चाहेमा दैनिक वा एक मुष्ट एक महिनाको राजश्व बुझाएपछि बस्न पाउने व्यवस्था रहेको उनले बताए । त्यस्तै मालबहाक सवारी साधनको हकमा कुनै रकम नतिरी ७२ घण्टासम्म निश्चीत ठाउँ गन्तव्यसम्म सामान पुर्याएर फर्कने गरि अनुमति दिइने गरेको सुचना अधिकारी ढुंगानाले बताए । तर नेपालबाट भारतका विभिन्न शहरमा जाने नेपाली नम्बर प्लेटका सवारी साधनले भने दूतावासबाट अनुमति लिनैपर्ने ब्यवस्था छ ।

सीमामा झण्झट

सीमा क्षेत्रमा नेपाली र भारतीय सवारी साधनका बिचमा निक्कै ठूलो समस्या छ । नेपाल भन्सार एजेन्ट महासंघका भन्सार एजेन्ट प्रतिनिधि नवलप्रसाद उपाध्याय नेपाली सवारी साधनलाई निक्कै समस्या रहेको बताउँछन् । नेपालमा फरक र भारमा फरक खालको नियमले दुई खालको चरित्र रहेको उनले बताए । नेपालबाट भारत तर्फ जाने सवारी साधन अनुसार न्युनतम ३ लाखको बैँक ग्यारेन्टी भारतीय दूतावासलाई बुझाएपछि मात्र जान दिने वा नदिने भनेर दूतावासको निर्णयमा भर पर्ने उनी सुनाउँछन् । दूतावासले इन्स्याेरेन्स, कर तिरेको रसिद, नवीकरण गरेको बिलबुक, तोकिएको बैँक ग्यारेन्टीको सक्कल उलपलब्ध गराएपछि गाडी जाँच गरेर मात्र अनुमति दिन सक्छ । ‘न्युनतम ३ महिनासम्मको अनुमति दिने गरेको छ, उनले भने, पहिला ६ महिनाको लागि दिन्थ्यो अहिले त्यो घटाएको छ ।’

कार, बस, ट्रक कुन खालको सवारी हो कागजमै बोर्डर खुलाए अनुसारको बोर्डरबाट जान पाउने व्यवस्था छ। दूतावासबाट स्वीकृत लिएर पनि नेपाल तर्फबाट भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयबाट छाप लगाएर मात्र भारतका विभिन्न क्षेत्रमा जानसक्ने र फर्किँँदा पनि त्यही अनुसारले फर्किनु पर्दा निक्कै झण्झट हुने गरेको व्यवसायीको भनाइ छ।

नेपालबाट दिल्लीको लागि सवारी साधन चलाउँदै आएका युनाईटेड नेपाल मन्जुश्री यातायात प्रालीका संचालक बिष्णु बस्नेतले राज्यको कमजोरीका विभेदपूर्ण व्यवहार ब्यहोर्नु परेको बताए ।

एकै प्रकारका काममा पनि फरक व्यवहार देखिनु ठिक नभएको र यसबारे नेपाल सरकारले पहल नगर्नु झनै दुखद भएको उनले बताए । ‘भारतबाट नेपाल प्रवेश गर्ने जुनसुकै सवारी साधनहरू दैनिक ३५० रूपैयाँ भन्सारमा तिरेर ३० दिनसम्म निर्बाध घुमिरहेका छन्, उनले भने, हामीले दूतावासमा गएर, बैँक ग्यारेन्टी बुझाए, एक पटकको ४ हजारसम्म तिर्दापनि अनुमति पाउन मुश्किल पर्छ ।’ पछिल्लो समय भारत तर्फ जाने तिर्थयात्री बसहरूले पनि यात्रुको नामावली बुझाएपछि मात्र अनुमति पाउन समस्या रहेको व्यवसायीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *