समस्याग्रस्त सुनसरी जिल्ला अस्पताल, थालियाे सुधारकाे पहल

विराटनगर । सुनसरी जिल्ला अस्पताल इनरुवामा कर्मचारी बस्दैनन् । भएका कर्मचारीहरूले पनि कामै नगर्ने समस्या छ । भएका उपकरणहरू कर्मचारीले नै बिगारी दिने, इमरजेन्सीमा कर्मचारी नभेट्दा नागरिकले समस्या पाउँदै आए । बिरामी भएर अस्पताल पुगेकाहरु पनि सही रूपमा उपचार पाउन नसकेर फर्किनु पर्ने बाध्यता देखियो ।

अस्पतालले दिनुपर्ने सेवा दिन नसकेको आरोप लाग्ने मात्र हैन बिरामी ल्याएर अस्पतालमा राखेपछि उपचार गर्ने इमरजेन्सीका कर्मचारी खोज्न जानुपर्ने अवस्था छ । संवाद समूह सुनसरीको आयोजनामा बिहीबार इनरुवामा भएको संवादमा यस्तै विषयमा छलफल भए ।  समस्याग्रस्त सुनसरीको इनरुवा अस्पतालको सुधारका लागि दलहरूले खासै चासो नदिएको पनि भनियो ।

दलहरूको संरक्षणमा कर्मचारी कार्यालयमा नजाने लगायतका आरोपहरू पनि लागे । समस्यै समस्या देखिएपछि दलहरूले त्यस बारेमा चासो दिएका छन् । उनीहरूले साझा प्रतिबद्धता जनाउँदै अस्पताल प्रशासनले सर्वदलीय बैठक बोलाउने, सर्वदलीय बैठकमा अस्पतालको सुधारका लागि तत्कालीन र दीर्घकालीन समाधानसहितको कार्य योजना प्रस्तुत गर्ने सहमति भएको छ।

इनरुवा अस्पताल सुधारका लागि सबै दलहरू एक हुने, त्यसका लागि दलहरूले सहयोग गर्ने भनिएको छ । अस्पताल विकास समिति सँगसँगै अन्तर पार्टी परामर्श, अनुगमन समिति बनाउँदै समस्याको समाधान खोज्न पनि दलहरू सहमत भएका छन् ।

बीमाको रकम नदिँदा बिमा कार्यक्रम प्रभावित भएकोले तत्काल रकम भुक्तानीको वातावरण बनाउन दलहरूले सहयोग गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन् । केही कर्मचारीका कारण अस्पताल विकास समिति र अस्पताल प्रशासनलाई समस्या देखिएको छ, अस्पताल प्रशासन भित्र सुधारका लागि कार्यरत जुनसुकै कर्मचारीलाई दलहरूले संरक्षण नगर्ने पनि बताएका छन् ।

नेकपा एकीकृत समाजवादी सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाले अस्पताल भनेको विशेष जिम्मेवार क्षेत्र हो भनेर नसोच्दा अहिलेको समस्या आएको बताए । ‘अस्पतालको हित विरुद्ध हुने कुरा दलहरूले बन्द गर्नु पर्छ,’ उनले भने, कर्मचारीलाई कर्मचारीको रूपमा अघि बढाउन दिनु पर्छ, अस्पताललाई राम्रो बनाउन लागिएको अवस्थामा दलहरूले हस्तक्षेप गर्नु हुँदैन ।’

नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले अस्पताल भनेको सबैको साझा भएकोले सबैले सहयोग गर्नु पर्ने बताए । ‘अस्पताल अहिलेको अवस्थामा पुग्नुको दोषी सबैभन्दा पहिला हामी इनरुवाका नागरिक र राजनीतिक दल हौँ, उनले भने, अहिलेसम्म हामीले अरूलाई जिम्मा दियौँ हामीले जुन अवस्थामा काम गर्नु पर्ने थियो त्यो अनुसारको हुन सकेन ।’

अस्पतालको भूमिकामा दलहरू चुकेको स्वीकार गर्दै भण्डारीले  दलहरूले आफ्नो दायित्व पुरा गर्न नसकेको स्वीकार गरे । अब दलहरू सबै मिलेर अस्पताल सपार्न लाग्नु पर्नेमा जोड दिए । नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज पोखरेलले दलहरूले अस्पताल सुधारका लागि गर्नु पर्ने काममा चासो नदिएको स्वीकार गरे ।

‘न्यून आर्थिक अवस्था भएका नागरिक उपचार गर्न जाने अस्पताल भित्रको बेतिथिको कुरा सुन्दा अप्ठेरो अवस्था थाहा हुन आयो, उनले भने, इनरुवा अस्पताल भन्दा पछि बनाइएका अस्पताल सुविधा सम्पन्न भएका छन् इनरुवा अस्पताल भित्र कुकुर र सुँगुरले  छिर्न सक्ने अवस्था देखिँदैन ।’ विगतको भन्दा सुधार गर्दै राम्रो बनाउन लाग्नु पर्ने रहेकोले दलहरू सबै एक भएर लाग्न उनले आग्रह गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनारायण यादवले अस्पतालमा सुधारका लागि राजनीति हुनुपर्ने बताए । ‘अस्पतालमा राजनीति छिराउनु पर्छ तर नेतागिरी छिराउनु हुनु हुँदैन,’ उनले भने, ‘दलगत स्वार्थ छिराउनु हुँदैन, हाम्रो सहयोग कहाँ कहाँ खाँचो छ त्यहाँ सहयोग गर्न हामी तयार छौँ ।’  नेपाली कांग्रेसका उपसभापति पङ्कज मेहताले अस्पताल सुधारका लागि नयाँ एक्सनमा जानु पर्ने बताए ।  हाम्रो र राम्रो अस्पताल बनाउनका लागि स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयनमा लग्ने,  राजनीतिक दलहरूले अस्पताललाई सुधारको अभियानको रूपमा लिएर जान उनले सुझाए ।

उनले विकास समिति सँगसँगै अन्तर पार्टी परामर्श, अनुगमन समिति बनाउँदै समस्याको समाधान गर्न सकिनेमा  जोड दिए  । नेकपा माओवादी केन्द्रका नेता ओके दाहालले अस्पतालमा राजनीतिक नेतृत्व नभएको कारण अहिलेको अवस्था आएको बताए । अस्पताल राम्रो छ, सेवा सुविधा छ भन्ने भावना नागरिकलाई जगाउनु पर्ने बताए ।

‘सबै क्षेत्रमा ध्यान गयो हामीले अस्पताल बनाउने कुरामा ध्यान दिन सकेनौँ, उनले भने, अहिलेको समस्या भनेको बिचौलियाले खेलेको छ, निजी अस्पतालको एजेन्ट इनरुवा अस्पतालमा छन्  ।’ उनले ती एजेन्टले बिरामी विराटनगरका ठुला अस्पतालमा पुर्‍ याउनका लागि इनरुवा अस्पतालमा बसेर कमिसन खाईरहेको पनि आरोप लगाए ।

जनता समाजवादी पार्टी नेपालका कार्यवाहक जिल्ला अध्यक्ष  रविन राईले इनरुवा अस्पताल सुनसरीको नै जिल्ला अस्पताल भएकोले यसलाई जिल्लागत रूपमा अघि बढाउनु पर्ने बताए । नेकपा एसका वसन्त सुबेदीले मध्यरातमा अस्पताल जाँदा एउटा सिटामोल दिने स्वास्थ्यकर्मी पाउन मुस्किल रहेको सुनाए । ‘इनरुवा अस्पताल मेरो आँगनको अस्पताल हो, राती साँझ अप्ठेरो पर्दा जाने त्यही अस्पताल हो, उनले भने, अप्ठेरो परेर अस्पताल जाँदा एउटा सिटामोल पाउन मुकिस्लछ, स्वास्थ्यकर्मी हुँदैनन्  ।’

मानव अधिकार सञ्जाल सुनसरीका रमेश भट्टराईले कर्मचारी प्रशासनलाई दलहरूले गिजोल्ने प्रयास भएको बताए । एम्बुलेन्स चालकहरूले बिरामी विराटनगर लगायतका अस्पतालमा लगे बापत टोकन मनी लिने गरेको सुनिनमा आएको बताए । उनले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव दिए । अस्पताल विकास समितिका सदस्य रामप्रसाद मेहताले काउन्टरको रकम काउन्टरका कर्मचारीको खल्तीमा गएको आरोप लगाए ।

सकसमा अस्पताल प्रशासन

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गोपाल राज भण्डारीले  अस्पतालमा बिचौलियाहरू समस्याको रूपमा रहेको बताए । उनीहरूको अस्पताल भित्रका हरेक क्षेत्रमा समस्या सिर्जना गर्ने गरेको उनको भनाई छ।   उनले कर्मचारी भित्रको विवादले गर्दा मेसूलाई काम गर्न नदिने अप्ठेरो पर्ने लगायतका कारणले गर्दा लामो समय मेसुलाई बस्न नदिने गरेको सुनाए ।

‘कर्मचारी भित्रैका केही व्यक्तिहरूले आफ्नो राज गर्न खोजेको देखिन्छ, उनले भने, ठेक्का लाग्न नदिने। टेण्डरको सूचना निकाल्न नदिने कारणले गत वर्ष पनि डेढ करोड फ्रिज गयो ।’  अस्पताल सुधार गर्छौँ भनेर आएका प्रमुखहरू आउने बित्तिकै छोटो समयमा हिँड्नु पर्ने अवस्था आएको बताए । यो ४ वर्षको अवधिमा ४ जना प्रमुख फेरिएको उनले सुनाए ।

अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले अस्पताल भित्र सकारात्मक सन्देश दिने खालको हुनुपर्ने बताए । करिब डेढ महिना पहिला सरुवा भएर आएका अस्पताल प्रमुख घिमिरेले अस्पताललाई सुधार गर्न खोजेको देखिन्छ  । अस्पताललाई नागरिकको तर्फबाट हेर्ने दृष्टिकोण नै फरक भएको बताए । ‘डाक्टर अपराधी, कर्मचारी चोर, अस्पताल लुटेर खाए भनेर नागरिक तहमा देखिन्छ,’ उनले भने , ‘वडा र टोल तहसम्म कर्मचारी, डाक्टर  र अस्पतालले व्यवस्थापनको बारेमा सकारात्मक सन्देश दिन दलहरूले सघाउनु पर्ने देखिन्छ ।’

अस्पताल भित्र र बाहिर दुवैतर्फ राजनीति हुने गरेकोले त्यसको असर अस्पतालमा देखिएको बताए । १० बजेदेखि ५ बजेसम्म कर्मचारीले अस्पतालमा काम गर्नुपर्ने भए पनि ३० दिनमा १७ दिन मात्र कार्यालयमा आउने आए पनि आउँदा २ बजे नै हिँडिदिने खालका कर्मचारीले अस्पताललाई अहिलेको अवस्थामा पुर्‍याएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख तथा अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख  सागर प्रसाईँले १४ जिल्लाको अस्पतालहरूको ईण्डिकेटरमा इनरुवा अस्पताल १४ औँ नम्बरमा रहेको बताए । अस्पताल सुधार भएको छ कि छैन भनेर हेर्नका लागि इमरजेन्सी र भर्नालाई हेर्ने गरिएको छ त्यस्तो अवस्थामा अस्पतालको अवस्था कमजोर देखिएको उनले बताए ।

‘अस्पतालले तोकिएका सेवा दिइएको छैन भने त्यो समस्याको विषय हुनसक्छ, उनले भने, सुनसरीका धेरै जनसंख्यालाई इनरुवा अस्पतालको बारेमा थाहा नै छैन ।’ बिरामीको चाप दैनिक ३ सय हुँदा चलेको अस्पतालको हाराहारीमा देखिने गरेको भए पनि यसको आन्तरिक रूपमा निक्कै समस्या देखिएको उनले बताए । यो अस्पतालमा भेन्टी लेटर रहेको छ, तर चलाउने जनशक्ति छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *