सबैको प्यारो शिक्षक कसरी बन्ने ?

सबैको प्यारो शिक्षक कसरी बन्न सकिन्छ भन्ने कुराले प्रायः भर्खरै शिक्षण पेशामा लागेका अथवा भनौँ वर्षौंदेखि शिक्षण पेशामा काम गरिरहेकालाई सधैँ घोत्लिन बाध्य तुल्याउँछ ।

मैले पढाउन थालेको पाँच वर्ष भयो । मेरै अनुभवबाट सबैको प्यारो शिक्षक कसरी बन्न सकिन्छ भन्ने कुरा म बताउने छु । हुन त भर्खरभर्खरै यो क्षेत्रमा लागेको छु । अझै काम गर्दै, सिक्दै, पढाउँदै जानेछु । केही प्रभावकारी काम गर्नै बाँकी पनि छ तर पनि स्कूल, विद्यार्थी र अभिभावकको सेरोफेरोमा रहरहँदा यी केही वर्षका अनुभवले धेरै कुरा सिकाएको छ । प्रायः विद्यार्थीले अति नै माया गर्ने गर्छन् । अभिभावकले सम्मान गर्नुहुन्छ । चिनेका नचिनेका व्यक्तिहरूले प्रत्यक्ष, अप्रत्यक्ष मेरो कामको प्रशंसा र अझै लागिपर्न जुन हौसला दिनुहुन्छ त्यो आफैँमा गौरवको कुरा हाे, मेरो लागि उपलब्धि हो ।

त्यसले झन्झन् उत्साह थपेको छ । मैले गरेका काम र अनुभवले मजस्तै अरू शिक्षकहरू वा शिक्षा क्षेत्रमा जोडिन चाहनेहरूका लागि उपयाेगी आशा राख्दै यी अनुवहरू लेख्दै छु ।

१. एउटा सामान्य शिक्षक हुनु वा अलि फरक खालको शिक्षक हुनुमा केही ठूलो अन्तर छैन । केवल छ त अनुशासनको । आफ्नो काममा अनुशासित रही निरन्तर रूपमा त्याे काम गर्दै जाँदा त्यसले ल्याउने पोजेटिभ भाइब्सले तपाईंको कामको बारेमा वरिपरि र टाढासम्म सुगन्ध छर्ने काम गर्छ । भन्न खोजेको के हो भने, हामी शिक्षक अनुशासित भएर, समयमा स्कूल आउने, आफ्नो स्वास्थ्यको ख्याल गर्ने, बोल्ने भाषालाई सकारात्मक र सरल शब्दहरू प्रयोग गरेर बोल्ने, दिएको जिम्मेवारीलाई पूरा गर्ने, विद्यार्थीलाई गर वा नगर भनेकाे काम पहिला आफूले पालना गर्दै उदाहरण आफैँलाई बनाएर पेश गर्यो भने विद्यार्थीको प्यारो शिक्षक बन्न सक्नुहुन्छ । विद्यार्थीलाई नङ काट, कपाल काट, जंक फुड नखा भन्ने तर आफूले त्यस्तो नगर्ने हुँदा विद्यार्थीले तपाईंलाई सम्मान त के, तपाईंको माझ आउन पनि छाड्छन् र कुरा पनि काट्छन । त्यै भएर मुख्य कुरा भनेको राम्रो शिक्षक बन्नु छ, सबैको प्यारो शिक्षक हुनु छ भने अनुशासित हुनुपर्यो ।

२. शिक्षक सधैँ उत्सुक हुनुपर्छ । मोटिभेटेड हुनुपर्छ । हँसिलो हुनुपर्छ । हो, त्यस्तो सधैँ नहुन सक्छ । म पनि सधैँ उत्सुक हुन सक्दिनँ । कहिलेकाहीँ अनेक कुराले रिस उठिरहेको हुन्छ । तर प्रायः उत्सुकचाहिँ हुन्छु । विद्यार्थीको जीवनमा प्रभाव पार्न सकूँ । उसको खुवीलाई संसार माझ देखाउन सकू । पढ्न गाह्रो हुनेलाई सजिलो तरिकाले सिकाउन सकू । लेख्न अप्ठ्यारो मान्नेलाई लेख्न सिकाउन सकू । अरू विद्यार्थी जसलाई अरू कुराको चासो छ, ती विद्यार्थीलाई अन्य ज्ञाता बोलाएर त्यो क्षेत्रको बारेमा अवगत गराउन सकू भन्ने लागि रहन्छ । त्यै भएर सबले यो शिक्षक राम्रो छ, हाम्रो लागि चिन्ता गर्नुहुन्छ । हाम्रो बाबुनानुलाई माया गर्नुहुन्छ भन्ने भन्छन् । भन्न खोजेको के हो भने, यदि शिक्षक आफूले गर्ने काममा मोटिभेटेड भएर लागिपर्नु भयो भने पनि प्रायः हितैषी शिक्षक बन्न सक्नुहुन्छ ।

३. आफू वरिपरि के भइराखेको छ त्यसको ख्याल गर्नुपर्छ । कहिलेकहीँ जत्ति गर्दा पनि त्यै अनुसारको नहुँदा झर्को लाग्ने, रिस उठ्ने हुँदा हामी अञ्जानमै विद्यार्थी, सहकर्मी बीच रिस पोखिरहेका हुन्छौँ । जसले सम्बन्ध बिगारिरहेको हुन्छ । अर्को, आफ्नो स्कुलमा, कक्षाकोठामा के भइरहेको छ, त्यसको पनि ज्ञान या भनौँ होस् नहुँदा स्कूलका साथै, आफूलाई पनि हानी पुर्याइरहेका हुन्छौँ । बरू संयमता अपनाएर, धैर्य गर्दै अगाडि बढेमा राम्रो हुन्छ । आफूलाई केले खुसी दिन्छ ? के कुराले दुखी तुल्याउँछ ? के कुराले हौसला प्रदान गर्छ ? के कुरा सिक्नु छ, के सुधार्न मन छ ? के गर्न मन छ ? म किन यो क्षेत्रमा काम गर्दै छु ? यी यावत् प्रश्न पनि आफैँलाई सोधेर र फेरि उत्तर पनि आफैँसँग खोज्दा, त्यसलाई मनन् गर्दै अगाडि बढेमा पनि आफैसँग खुसी हुँदै सबैको माया लाग्ने खालको शिक्षक बन्न सकिन्छ ।

४. राम्रो शिक्षकमा हुनुपर्ने गुण भनेको सधैँ केही न केही कुरा सिकिराख्ने स्वभावको हुनु हो । यदि कुनैदिन केही नयाँ कुरा सिकिएन भने, त्यो दिन खेर गएको जस्तो लाग्छ मलाई । त्यै भएर पत्रिका, न्युज पोर्टल, फेसबुक, इन्स्टाग्राम, युट्युबमा केही कुरा पढिरहेको, हेरिरहेको हुन्छु । आफ्नो ज्ञानको क्षतिजलाई फराकिलो बनाउन तल्लीन भइराखेको हुन्छु । एउटा शिक्षक कक्षाकोठामा जाँदा विभिन्न चाहाना भएका विद्यार्थीहरू माझ घोत्लिनुपर्दा, एउटै खालको ज्ञान बाँडेर नहुने रहेछ । विद्यार्थीको मनोभावना बुझेर उसलाई प्रोत्साहन गर्नुपर्छ । हौसला बढाउनुपर्छ । उसको पढाइको स्तरलाई सुधार्न पनि शिक्षकले सधैँ पढ्नुपर्छ या भनौँ सिकिरहेको हुनुपर्छ । आफ्नै शिक्षण क्षेत्रको बारेमा थाहा पाउनको साथै अन्य क्षेत्रको पनि ज्ञान भएमा मात्र ति शिक्षकले राम्रो, प्रभावकारी तरिकाले विद्यार्थी, प्रिन्सिपल, अभिभावकलाई सम्झाउन सक्छन् । यदि त्यसो गरेमा सबैको प्याराे शिक्षक बन्न सक्नुहुनेछ ।

५. कतिपय अवस्थामा हामी शिक्षकहरू आफ्नो क्षमतामा प्रश्न गर्छौं । के मैले साँच्चिकै पढाउन सक्छु त ? के म सही काम गरिरहेको छु त ? त्यो सोचाइ आउनु स्वाभविक नै हो । जसलाई पनि आउँछ । मलाई नि आउँछ । तर त्यो भन्दैमा तपाईं हामी नराम्रो शिक्षक त होइनौँ । हामी निरन्तर कोसिस गरिरहेका हुन्छौँ तर कहिलेकाहीँ रिजल्ट त्यो अनुसारको नआउँदा गाह्रो हुन्छ । कहिलकाहीँ आफूलाई विश्वास गरेर, आफ्नो काममा शतप्रतिशत दिइसकेपछि, त्यसको परिणाम आफ्नो अधीनमा नहुँदा त्यसको चिन्ता छाडिदिनुपर्छ जस्तो लाग्छ । हामीलाई बस् कर्म गर्ने अधीन हुन्छ तर त्यसको फल हाम्रो अधीनमा नहुँदा त्यसको चिन्ता लिएर अनेकथरी सोच्नु भन्दा बरू आफ्नो अधीनमा भएको कुरालाई अझै निखार्दै अगाडि बढ्नुपर्छ । एउटा कृषकले बोट लगाउन सक्छन, त्यसको हेरचाह गर्न सक्छन तर त्यो बोटमा फल फलाउने ग्यारेण्टी दिन सक्दैनन्, हो हामी शिक्षक पनि त्यस्तै कृषक जस्तै हौ । त्यसैले आफ्नो कर्मलाई विश्वास गरौँ, आफ्नो क्षमतामा विश्वास गरौँ । यति गर्न सकेमा पनि हामी प्रायको न्यानो शिक्षक बन्न सक्छौँ ।

६. कहिलेकाहीँ जे कुराले हामीलाई दुःख दिन्छ, त्यसैमा आफ्नो कल्याण लुकेको हुन्छ । भन्नुको अर्थ, मानौँ स्कूलको हाकिमले सबै शिक्षकलाई अब उप्रान्त प्रश्नपत्र बनाउँदा टाइप गरेर इमेल गर्नुपर्छ भनेर भन्यो र कोही शिक्षकलाई आएन भने उहाँले हरेश खाएर मैले टाइप गर्न सक्दिनँ, आउँदैन भन्नुको साटो, म सिक्छु, यो सिकेमा प्रश्नपत्र मात्र किन, पछि टाइपिङ गरेर पनि आयआर्जन गर्न सक्छु भनेर अगाडि बढ्नुभयो भने पनि कल्याण हुन सक्छ । हो गाह्रो हुन्छ शुरूमा तर जेले दुःख दिन्छ, त्यसको सामना गर्दै गएमा हाम्रो अस्त्र बन्न सक्छ । मेरै कुरा गर्ने हो भने करियर एक्सपोजर ट्रिपमा विभिन्न पाँच वटा स्कूलको विद्यार्थीलाई ५० वटा कार्यालय घुमाउन काठमाडाैँ ल्याउन मेरो लागि ठूलो चुनौती थियो । सुन्दा पो रमाइलो लाग्छ कि ओहो मोइनले ३०० विद्यार्थीलाई ५० वटा ठाउँ घुमायो तर मलाई कति गाह्रो भयो त्यो सब मिलाउन, त्यो मलाई मात्र थाहा छ । त्यत्रो मान्छेहरूलाई फोन गरे, इमेल पठाए, भेट्न गए, यसोयसो गर्न लाको छु भनेर सबलाई भने । कतिले अन्तिम समय सम्म पनि मानेनन् । कति रिजेक्सन पाए, त्यो मलाई मात्र थाहा छ । तर जब गरेर देखाए, त्यस पछिको सुखको अनुभूति त अर्कै छ । भन्न खोजेको के हो भने, जेले तनाव दिन्छ त्यसलाई शक्तिमा रूपान्तरण गर्नुभो भने पनि सबको रसिलो शिक्षक बन्नुहुन्छ ।

७. हरेक शिक्षकमा केही न केही पढाउनु बाहेकको गुण हुन्छ । हो, त्यसलाई चिनेर आफ्नो अस्त्र बनाएर शिक्षण क्षेत्रमा प्रवेश गर्नुभयो भने तपाईंको शक्ति बनेर विजय हासिल गर्न सघाउने छ । गिटार बजाउनुस्, मादल बजाउनुस्, चाहे मिठो अचार बनाउने कला नै किन नहोस्, अथवा दाग लागेको लुगाबाट दाग हटाउने खुबी नै किन नहोस्, मिठो चिया बनाउने सीप या भनौँ लेख लेख्ने कालालाई शिक्षासँग जोडेर जानुभो भने पनि तपाईं सबैको बिर्सिनै नसक्ने खालको शिक्षक बन्नुहुनेछ । मेरो कुरा गर्ने हो भने मलाई भिडियो बनाउन मनपर्छ । हो, म यो अस्त्रलाई लैजान्छु मेरो कुरुक्षेत्रमा ।

८. सधैँ आफूले गर्ने काममा दत्तचित्त भएर लाग्नुपर्यो । शिक्षकले त अलिअलि भविष्य पनि आकलन गर्ने खालको हुनुपर्छ । के कस्तो ट्रेण्ड चलिरहेको छ शिक्षण क्षेत्रमा भन्ने ज्ञान हुनुपर्छ र आफूले देखेको सपनालाई कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा घोत्लिनुपर्छ । विश्वासिलो मान्छेलाई भनेर सहयोग जुटाउनुपर्छ । यदि यसो गर्न सकेमा तपाईंको भविष्य सुरक्षित हुनुको साथै सबैको भिजन देखाउने शिक्षकको रूपमा पनि चिनिनुहुन्छ ।

९. आफूले गर्ने काममा निरन्तर लागि रहनुपर्छ । हो, शुरूमा काम गर्दै जाँदा कमजाेरी हुन्छन्, कहिलेकाहीँ भाग्यवश सफलता प्राप्त हुँदै जान सक्छ । सबले तारिफ गर्दै पनि जान्छन् । तर समाय एकनाशको हुँदैन । कहिले निराश भइन्छ । धेरैले साथ छाड्छन् । आफूले भरोसा गरेको मान्छेले भरोसा तोड्दा या समयमा साथ नदिँदा पनि आफ्नो कामप्रति खुट्टा काम्न थाल्छ । मेरो पाँच वर्षको शिक्षण करियरमा आफूले भरोसा गरेका मान्छेहरूले साथ दिएनन् । सायद केही पर्यो होला र त गरेनन् भनेर सोचे र आफूले गर्न सक्ने कर्मप्रति भरोसा गर्दै अगाडि बढे र कतिपय कुरा गर्नमा सफल पनि भएँ । भन्न खोजेको के हो भने, हामी खोलासरि बगिरहनुपर्छ । कहिले बाढी आउँछ, कहिले खोलामा पानी कम हुन्छ, तर बगिरहनुपर्दछ । सुक्नु हुँदैन । यदि सुकेमा त्यो खोलाको अर्थ रहँदैन । त्यै भएर जे जस्तो अवस्था आएमा अपनि आफ्नो काम चाहिँ निरन्तर गर्नुपर्छ ।

१०. विभिन्न परिस्थितिहरू आउँछन्, त्यसलाई आफ्नै पारामा मेरै गोरुको बाह्रै टक्का भनेर लाग्नुभयो भने दुःख पाइन्छ । त्यै भएर परिस्थिति अनुसार, आफूलाई ढाल्दै अगाडि बढ्नुपर्छ । कति प्रोजेक्टहरू अरूको अधीनमा हुन्छन् । उहाँहरूको निर्णयमा भर पर्नुपर्ने हुन्छ । अब आफूले चाहेको जस्तो हुनुपर्छ भन्यौ भने, निर्णयकर्ताले हुँदैन भन्दियो भने काम शुरू गर्नुअगावै बन्द हुन्छ । त्यै भएर निर्णयकर्ताको हो मा हो मिलाउँदै, आफू केही समय सानो भइदिएर पनि अगाडि बढ्नुपर्छ । आफ्नो इमोसनलाई कन्ट्रोलमा राख्नुपर्छ । रिस रागलाई बरू माथि भनेझैँ त्यसलाई शक्तिमा बदलिन सक्यौँ भने ती जो तगारो भइदिएका थिए, उनीहरूको पनि तपाईं प्रिय शिक्षक बन्नुहुनेछ ।

११. कतिपय अवस्थामा हामीले सत्यतालाई ग्रहण गर्नैपर्छ । सूर्य पूर्वबाट उदाउँछ भने पूर्वैबाट उदाउँछ । हैन, सूर्य किन उत्तर, दक्षिण, पश्चिमबाट उदाउँदैन भनेर ढिपी कस्न थाल्यौ भने आफैँले दुखाई भोग्नुपर्छ । माछा किन उड्दैन, ऊ त उड्नुपर्छ भनेर ढिपी गर्यौ र माछालाई पानीबाट निकाल्दा त्यो माछा मर्छ । भन्न खोजेको के हो भने कतिपय अवस्थामा हामी शिक्षकले जत्ति प्रयास गरे पनि कुनैकुनै विद्यार्थीले राम्रो गर्न सकिरहेको हुँदैन । यसको अर्थ यो होइनकि हामी शिक्षकले प्रयास गर्न छाड्ने हो । हो उसको अवस्थालाई बुझेर उसलाई कसरी साथ दियौँ भने राम्रो हुन्छ भन्ने विकल्प खोज्नुपर्छ र त्यहि अनुरूप सहयोग गर्नुपर्छ । अर्को कुरा के पनि हो भने, मान्छे जन्मेपछि केही अंतराल पछि विलिन हुनुपर्छ । यो शाश्वत हो । र के पनि हो भने मान्छे बाँच्ने क्रममा उसले धेरै कुराको क्षमता प्रदर्शन गर्दछ, सिक्दछ, अगाडि बढ्दछ र फेरि सुस्त सुस्त अस्ताउँदै क्षमतामा कमी आउन थालेर विलीन हुन पनि थाल्छ । यो पनि स्वीकार्नुपर्छ । यो कुरा तपाईं हामीले अहिले नभागेको किन नहोस् तर यी दिन पनि आउन सक्छन् तर यो भन्दैमा पाठकलाई मलीन बनाउन खोजेको होइन । खुसीको कुरा के हो भने ती अग्रज शिक्षकबाट हामीले उहाँहरूको अनुभवको ज्ञान-सागरबाट पनि सिक्दै अगाडि बढेमा पनि ती अग्रज शिक्षकहरूको पनि प्यारा-प्यारी कल्कलाउँदो शिक्षकको रूपमा परिचित हुन सक्छौँ ।

१२. अन्तिममा के हो भने हाम्रो बानी, आचरण र व्यवहारले हाम्रो विश्वासको जग बसालिरहेको हुन्छ, त्यसैले त्यस्ता कुरामा ध्यान पुर्याउन जरुरी छ । हामी शिक्षकले के कुरालाई बढी प्राथमिकता दिन्छौँ, केलाई आधार मानेर स्कुलको ढोका पस्छौँ, हाम्रो फरक संस्कार संस्कृतिको हुर्काइ र त्यसको बुझाई, इत्यादि कुराले पनि हाम्रो विश्वासलाई धारिलो बनाउने हुँदा पनि त्यसलाई समय सापेक्ष सबैको कल्याण र हितमा काम गर्नु जरुरी पनि छ र यदि त्यसो गर्न सके सबैको सुरिलो शिक्षक बन्न पनि सजिलो हुनेछ ।

यी कुराहरू मेरा व्यक्तिगत अनुभवका उपज हुन् । यी कुराहरू पाठकवर्ग समक्ष राखेँ । मैले यी कुरा गर्दा अहिलेसम्ममा प्रायःको माया गर्ने शिक्षक भएको छु । सपना देखाउने शिक्षक हुन पुगेको छु । हरेक विद्यार्थीले केही न केही क्षमता बोकेर आएका छन् र उनीहरूले जे पनि गर्न सक्छन् भन्ने शिक्षक हुन पुगेको छु । भिडियो बनाएर विद्यार्थीहरूको प्रतिभा जनमानसमा पस्किने शिक्षकको रूपमा रहिरहेको हुँदा तपाईंले पनि आफू अनुकुल कस्तो शिक्षक बन्ने भन्नेमा अघि बढेमा सबैको प्यारो शिक्षक बन्न सक्नुहुन्छ ।

मोइन उद्दिन टिच फर नेपालको अलुम्नाई हुन् । उनी हाल अक्सफाेर्ड सेकेन्डरी स्कुल नवलपुरमा अध्यापन गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *