महाअभियोगको सडक, संसद र न्यायालयबाट प्रतिवाद गर्ने एमालेकाे निष्कर्ष

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले महाअभियोगको सडक, संसद र न्यायालयबाट प्रतिवाद गर्ने निर्णय गरेको हो । त्यस्तै एमालेले बाहिर चर्चा गरिएजस्तो सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनै काउन्टर महाभियोग नल्याउने स्पष्ट पारेको छ । यद्यपि सांसदहरूको हस्ताक्षर भने संकलन गरिएको र नेतृत्वले आवश्कता अनुसार प्रयोग गर्नसक्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर आएका समाचारहरू पूर्वअनुमान मात्रै रहेको भन्दै उनले वस्तुस्थितिको ठोस अध्ययन गरेर ठोस् निर्णय आओस् भन्ने सुझाव सांसदहरूको आएको जानकारी दिए ।

त्यस्तै बैठकले अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान दोहोर्याएको छ । यस विषयमा आवश्यक परेका बेला एमालेले आवश्यक निर्णय लिने उनको भनाइ छ । बैठकमा एमाले अध्यक्ष केपी ओलीले अदालतलाई अस्थिर बनाउने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने उदेश्यले महाभियोग आएको र प्रतिवाद गर्नुपर्ने बताएकाे भट्टराईले जनाए ।

बैठकमा सांसदहरूले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई बोकेर चुनावमा जान नहुने सुझाव दिएका थिए । बैठकले राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने जिम्मा पार्टी नेतृत्वलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *