ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आईपीओ खुला

काठमाडाैँ  । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी (तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ)को १० प्रतिशतले १०० रुपैयाँअंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर-१, २ र ३ तथा लिखु गाउँपालिका-९ र रामेछापको लिखु तामाकोसी गाउँपालिका-१, २ तथा उमाकुण्ड गाउँपालिका-७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरेको छ ।

सार्वजनिक आह्वान पत्रानुसार ओखलढुंगा र रामेछापका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयले आजदेखि छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल ओखलढुंगाको खिजिदेम्बाको वडा नम्बर-१ र ३ तथा रामेछापको उमाकुण्डको वडा नम्बर-७ मा केन्द्र रहेको कुल ५२.४ मेगावाट क्षमताको लिखु-४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत १२ अर्ब आठ करोड रुपैयाँ हुने जनाएको छ ।

स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै, लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुंगाको खिजिदेम्बा शाखा तथा आयोजनास्थलबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ कम्पनीले ‘केयरएनपी-आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *