एक वर्षमा आयोग धेरै काम गर्न सफल भयो : आयुक्त ठाकुर

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले एक वर्षमा धेरै काम गर्न सफल भएको बताएका छन् ।

विगत १ वर्षदेखि आयोगका सदस्यको रूपमा कार्यरत रहेको अवधिमा उनले कोभिडका बिचमा पनि आयोगले केही महत्त्वपूर्ण काम भएको बताए । विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुरूका दिन देखि नै असहयोग भएको ठाकुरले बताए । अविश्वास र असहयोगका बिचमा पनि धेरै काम भएको उनले सुनाए ।

मानव अधिकार आयोगको पाँचौ कार्यकालका पदाधिकारीका रूपमा २०७७ माघ २१ गते कार्यभार सम्हालेको एक वर्षको अवधिमा हासिल गरेको उपलब्धि, आयोगको संवैधानिक तथा कानूनी क्षेत्राधिकार, वर्तमान परिस्थिति र भविष्यमा आयोगले लिनुपर्ने कामको आत्मसाथ गर्दै नियुक्तिसँगै कार्य प्रारम्भ गरेको आयुक्त ठाकुरले बताए ।

आयोगले मनोसामाजिक समस्याको उपचारका लागि स्वास्थ्य संस्थाहरूको कमी रहेकाले प्रदेश स्तरमा समेत यस्ता स्वास्थ्य संस्थाहरूको विस्तार गर्न, भएका स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गरी व्यवस्थापनमा सुधार गर्न, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिचानको अधिकारलाई सम्मान गर्न, कारागार र हिरासतको स्तरोन्नति गर्न र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय सरकारहरूले कानून निर्माण गर्दा मानव अधिकारमैत्री हुने गरी निर्माण गर्न आयोगले सिफारिस गरेको बताए ।

आयोगका प्रवक्ता तथा सहसचिव डा टिकाराम पोखरेल ४६६ उजुरीको निर्णय भएको बताएका छन् । २०७७ माघदेखि २०७८ मङ्सिर मसान्तसम्म आयोगमा जम्मा १२९ उजुरी दर्ता भएका र नयाँ र पुराना गरी जम्मा ३७८ थान उजूरी भएको उनले बताए । नयाँ पुराना गरि ४६६ निर्णय भएको र नीतिगत ४ र उजुरीगत ५१ सिफारिस भएको पोखरेलले जानकारी दिए । तीनै तहको सरकारको प्राथमिकतामा मानव अधिकारका विषय प्राथमिकतामा नपरेको बताए । उनले हरेक क्षेत्रमा राजनीति प्रभाव परेको उल्लेख गरे । मानव अधिकार आयोगले पत्रकारसँग सकारात्मक सम्बन्ध छ, उनले भने, हरेक मानवअधिकारका विषय समाचारसँग जोडिएर आएको छ, यसलाई हामी निरन्तरता दिन चाहन्छौँ ।

मानव अधिकार आयोग प्रदेश १ का प्रमुख नितु गड्तौलाले प्रदेश १ मा कोभिडका कारण धेरै काम हुन नसकेको बताइन् । उनले वार्षिक कार्यक्रम प्रभावकारी हुन नसकेका, समाचारमा आएका, उजुरी परेका र अनुसन्धान गरेर आएका विषय आयोगले सिफारिस गरेको बताए । उनले प्रदेश १ मा कर्मचारी कम भएका कारण केही असहज भएको बताइन् । कार्यक्रममा आयोगका उपसचिव पवनकुमार भट्ट, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सन्जीव खनाल लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *