दूधमा उपभोक्ता मूल्य ९ रुपैयाँले बढ्यो, हरियो प्याकेटको प्रतिलिटर ११४ रुपैयाँ कायम

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले आजबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पुर्‍याउने निर्णय गरेको थियो । डीडीसीले कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानी भाडा लागत खर्च बढेको हुँदा वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य बढाउने निर्णय गरेको जनाएको छ ।

कच्चा दूधको मूल्यवृद्धिपछि दूग्ध विकास बोर्ड र डीडीसीले दूधको प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा माग पत्र पठाएका थिए । सो मागअनुसार मन्त्रालयले बुधबार उपभोक्ता मूल्य निर्धारण गर्न डीडीसीलाई सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । मन्त्रालयले डीडीसीलाई उपभोक्ता मूल्यवृद्धि गर्न अनुमति दिएपछि डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

डीडीसीका अनुसारका काठमाडौं उपत्यकामा दैनिक ७७ हजार लिटर दूध बिक्री वितरण हुन्छ भने ८० देखि ९० हजार लिटर संकलन हुन्छ । हाल देशभर दैनिक १ लाख २० हजार लिटर बिक्रीवितरण हुन्छ भने १ लाख ३० हजार लिटर दूध संकलन हुन्छ । जसमा डीडीसीले १ लाख ५ हजार लिटर बजारमा बिक्री गर्छ भने २५ हजार लिटर उद्योगलाई बिक्री गर्छ ।

हरियो प्याकेटमा १४ रुपैयाँ वृद्धि
पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *