सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ प्रकाशन हुँदै

काठमाडाैँ । १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा प्रकाशन हुने भएको छ ।

अस्वस्थ भई साेमवार अस्पताल भर्ना भएका जोशीको स्वास्थलाभको कामनासहित प्रकाशक बुकहिल पब्लिकेसनले आज पुस्तकको कभर सार्वजनिक गरेकाे हाे । पुस्तक यही फागुन महिनामा प्रकाशन हुने प्रकाशक स‌ंस्थाले जनाएको छ ।

पत्रकार एवम् लेखक गिरीश गिरीद्वारा लिखित आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।

आफ्नो पुस्तकलाई नियाल्दै सत्यमाेहन !

करिब एक दशकको सान्निध्य र कुराकानीबाट गिरीश गिरीले पुस्तक तयार पारेका हुन् । हिजो अस्पताल पुगेर पुस्तकको ‘प्रकाशन प्रति’ जोशीलाई हस्तान्तरण गरेपछि गिरी भन्छन्, ‘पुस्तक देखेपछि उहाँले त्यसलाई ढोग्नुभयो, करिब आधा घण्टा पढ्नुभयो । त्यसपछि उहाँको मुहारमा यस्तो चमक आयो कि मानौँ उहाँ बिरामी हुनुहुन्न ।’

जीवनभर अविश्राम नेपाली लोकसंस्कृति, साहित्य, पुरातत्त्व र समाज निर्माणमा लागिपरेका जोशीबारे लेखक गिरीश गिरी भन्छन्, ‘आफ्ना अनुभवहरू उभ्याउँदै मुलुकको लामो कालखण्ड बयान गर्न सक्ने जोशी अब त्यो पुस्ताको एक्लो कथावाचक हुन् । तिनै कथाहरू यो संस्मरणमा छन् ।’

आफ्नो पुस्तक हात परेपछि ढोग्दै ।

तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।
चर्चित फोटोग्राफर कुमार आलेले खिचेको अप्रकाशित फोटोलाई पुस्तकको आवरणमा बनाइएको छ ।

नेपाली समाजको आरोह-अवरोहलाई चियाउन मद्दत गर्ने विश्वास लिएको उनको आत्मकथा सबैका निम्ति प्रतिक्षित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *