एमालेले सातै प्रदेशमा दुई दिने प्रशिक्षण गर्ने
काठमाडौँ । नेकपा एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै प्रशिक्षण तथा अभिमुखीकरणको आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।
प्रशिक्षणमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरु, स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने जनाएको छ ।
प्रशिक्षणमा सम्बन्धित प्रदेशका इञ्चार्ज तथा सहइञ्चार्जहरु, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, एमालेबाट निर्वाचित जिसस प्रमुख वा उपप्रमुख, गाउँपालिका प्रमुख वा उपप्रमुख र पार्टीका पालिका अध्यक्षहरू सहभागी हुनेछन् ।
एमालेले मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् ।
प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल÷दाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी ।