३६ भाषाका हजाराैँ गीत गाएकी सुरलताकाे महाप्रस्थान

काठमाडाैँ । दक्षिण एशियामै सर्वाधिक चर्चित गायिका लता मंगेशकरकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे छ । 

आइतवार भारतकाे व्यापारिक राजधानी मुम्बइस्थित ब्रिच क्यान्डी अस्पतालमा उनकाे निधन भएकाे हाे । 

८ जनवरीमा काेराेना संक्रमित भएपछि मंगेशकरलाई अस्पताल भर्ना गरिएकाे थियाे । अवस्था गम्भीर देखिएपछि उनलाई आईसीयूमा सारिएकाे थियाे । केही समयपछि उनकाे स्वास्थ्यमा सुधार देखिएपनि उनी पुनः सिकिस्त भएकी थिइन् । 

२८ सेप्टेम्बर, १९२९ मा भारतकाे राजस्थानस्थित इन्दाैरमा जन्मिएकी लता मंगेशकरकाे गायन ‘करियर’ १३ वर्षकै उमेरमा शुरू भएकाे थियाे । 

बाल्यकालमै पिताकाे स्नेहबाट बन्चित भएकी लताका कलिला काँधमा आमासँगै चार भाइबहिनीलाई सम्हाल्ने जिम्मेवारी आइलागेकाे थियाे । उनका बुबा पण्डित दीनानाथ मंगेशकर एक प्रतिष्ठित शास्त्रीय संगीतकार र रंगमञ्चका कलाकार थिए । 

स्राेतः लाेकमत

घरमै संगीतकाे माहौल रहेकाले उनले संगीत विरासतमा सिकिन् भने पनि हुन्छ । उनका बुबाले उनलाई ५ वर्षकै उमेरदेखि संगीत सिकाएका थिए । लगभग यही उमेरमा उनी रंगमञ्चकाे कलाकार समेत भइन् ।

लता थिएन उनकाे नाम !

५ वर्षकाे उमेरमै रंगमञ्चमा उक्लिएकी लताकाे वास्तविक नाम हेमा थियाे । उनका बुबाद्वारा निर्देशित नाटकहरूमा अनेकाैँ भूमिका निर्वाह गरेकी हेमाकाे नाम नाटककै एउटा पात्रबाट लता राखिएकाे थियाे । 

मंगेशकरले गरेकाे अभिनय अत्यधिक रुचाइएपछि उनले बुबाले उनकाे नामै लता राख्दिएका थिए । 

सजिलाे थिएन यात्रा

हृदयघातबाट पिताकाे देहान्त भएपछि उनकाे जीवन संघर्ष क्रुर हुँदै गयाे । लता गायन क्षेत्रमा आफ्नाे भविष्य देख्थिन् । विडम्बना! जुन आवाजका आज कराेडाैँ प्रशंसक छन्, त्यही आवाजले एकसमय गाउनका लागि एउटा गीतसम्म पनि पाएन । 

लता मंगेशकरले जब १९४० काे दशकमा संगीत क्षेत्रमा पाइला टेकिन्, त्याे समय भारतीय सिनेमामा नुरजहाँ तथा शमशाद बेगमजस्ता हस्तीहरूकाे बर्चस्व थियाे । 

लताले अनेकाैँपटक कथित रूपमा स्वर तिखाे भएका कारण गीत गाउन पाइनन् । 

१९४२ मा बुबाकाे देहान्त भएपछि संगीत उनकाे रहर हाेइन, बाध्यता बन्याे । जसका माध्यमबाट उनले घर चलाउनु थियाे, साना भाइबहिनीहरूकाे स्याहार गर्नु थियाे । तर, उनी गायनमा अस्वीकृत भइरहिन् । गाएका गीतहरू पनि कुनै रिलिज भएनन्, कुनै प्रभावी देखिनन् । यस्ताेमा १९४२ देखि ४८ आउँदानआउँदै उनले ८ भन्दा बढी हिन्दी तथा मराठी सिनेमामा अभिनय समेत गरिन् । 

अनेक असफलताहरू हात लागे । गायनकाे पाटाे र जीवनकाे बाटाे अझ संघर्षपूर्ण हुन लाग्याे । परन्तु, लताकाे जन्म नै इतिहास रच्न भएकाे थियाे । आखिर १९४८ मा उनले चलचित्र मजबुरका लागि गीत गाउने अवसर पाइन् । यही उनकाे सांगीतिक शुरूवात थियाे । 

फिल्ममा लता मंगेशकर, स्राेतः लता अनलाइन

कालान्तरमा अत्यधिक रुचाइन थालेकी लताले ३६ भन्दा बढी भाषाका अनुमानित ३० हजार गीत गाइन् ।

विवाद र बहिनीसँगकाे सम्बन्ध 

शताब्दीकी महान् गायिका लता विवादहरूबाट भने विमुख रहिनन् । उनले भारतीय संगीत क्षेत्रमा चालेका ‘राेयल्टी’ अभियानका क्रममा गायक माेहम्मद रफीसँग बाेलचालसमेत बन्द भयाे । 

राेयल्टी अभियानलाई गायन क्षेत्रमा पनि सशक्त रूपमा अघि बढाउने प्रण गरेकी लताकाे अभियानमा माेहम्मदले भाँजाे हालेपछि उनले माेहम्मदसँग कहिल्यै गीत नगाउने बताइन् । यद्यपि शुरूवाती विवादका क्रममै माेहम्मदले लतासँग कहिल्यै गीत नगाउने बताएका थिए । पछि उनीहरूबीच झण्डै तीन वर्षसम्म सामान्य बाेलचाल समेत भएन । उनकाे राेयल्टी अभियानले गायक र निर्देशक/निर्माताहरूबीच लामाे विवाद बिजाराेपण गर्दियाे । यद्यपि याे न्याय र स्वाभिमानका लागि लता दिदीले लडेकाे लडाइँ थियाे । 

यही विवादकाे पाेयाे गिनिजबुक अफ वर्ल्ड रिकर्डमा नाम लेखाउनेसम्म समेत तन्कियाे । सन् १९७४ मा सर्वाधिक गीत गाउने गायिकाका रूपमा गिनिजबुकले लतालाई अनुमाेदन गर्दै थियाे । तर, माेहम्मद रफीले आफूले धेरै गीत गाएकाे दाबी गरे ।

लता मंगेशकर तथा माेहम्मद रफी, स्राेतः न्यूसिन

विवादपछि लताले आफूले गाएका गीतहरूकाे रेकर्ड देखाउनुपर्ने भयाे, जुन तत्काल उनका लागि सम्भव देखिएन र याे कीर्तिमान माेहम्मद रफीकाे नाममा रह्याे । यद्यपि रफीकाे निधनपछि गिनिज बुकले उक्त कीर्तिमान लताकाे नाममा सार्‍याे । पछि सन् २०११ मा उनकी बहिनी आशाका नाममा याे रेकर्ड कायम रह्याे । 

भारतीय संगीत क्षेत्रकी ठूली हस्ती आशा भाेसले लताकी बहिनी हुन् । लताले समयक्रमसँगै आशाबाट पारिवारिक जिम्मेवारीकाे अपेक्षा गरेकी थिइन् । तर, त्यस्ताे भएन । त्यस्तै, आशा १६ वर्षकाे उमेरमै आफूभन्दा दाेब्बर उमेरका व्यक्तिसँग प्रेमसम्बन्धमा थिइन् । याे कुरा पनि लतालाई मन परेकाे थिएन । तर,  आशाले लताकाे मञ्जुरीबेगर प्रेमीसँग बिहे गरिन् । केही समयपछि बिहे टुट्याे । दिदीबहिनीबीच पनि हार्दिक सम्बन्ध रहेन । 

यसैबीच भारतीय संगीतबजारमा उनीहरूमध्ये काे ठूलाे गायिका भन्ने बहस छेडियाे । जसले पनि दिदीबहिनीबीचकाे सम्बन्ध प्रगाढ हुन दिएन । आशा लताकाे गायिकीकाे छायामुनि हराइरहिन् । 

लता मंगेशकर र आशा भाेसले, स्राेतः फन्ससेयर

भारत सरकारले लताका नाममा सर्वाेच्च सम्मान भारत रत्न अर्पण गरेकाे छ । त्यस्तै उनले पद्म भूषण, दादा साहब फाल्के पुरस्कार, पद्म विभूषण, महाराष्ट्र भूषण, एनटीआर राष्ट्रिय पुरस्कार, एएनआर नेशनल अवार्ड, ३ वटा राष्ट्रिय फिल्म पुरस्कार, तथा फिल्मफेयर लाइफटाइम अचिवमेन्ट अवार्डसमेत पाएकी छन् । 

हिन्दी तथा अन्य अनेक भाषामा अत्यधिक रुचाइएकी लतालाई स्वर कोकिला, स्वर साम्राज्ञी, नाइटिङ्गेल अफ इन्डियाजस्ता अनेकाैँ उपाधि तथा विशेषणहरूले सम्बाेधन गरिन्छ । संगीत नक्षेत्रकाे एउटा तारा ‘लता दिदी’लाई अब कहिल्यै देख्न पाइने छैन तर उनकाे काेकिल आवाजले उनकाे स्मरण भइरहने छ । एजेन्सीहरूकाे सहयाेगमा 

(आवरण तस्वीरः रवीन्द्र मानन्धरको फेसबूक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *