मिरगञ्जको विकल्प पुल सञ्चालन गर्न भारतीय उपमुख्यमन्त्रीलाई आग्रह

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला मन्त्री र भारतको विहारका उपमुख्यमन्त्रीबीच दुई देश बीचका समस्या बारे छलफल भएको छ। प्रदेश १ सँग सम्बन्धित विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा विराटनगरको सिंघीया, केसलिया खोलाको समस्या र भारतको मिरगञ्ज पुलमा देखिएको समस्या समाधान गर्ने बारेमा भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबीच छलफल भएको हो ।

नेपाल आएका विहारका उपमुख्यमन्त्री प्रसादसँग भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केसलियामा तटबन्धसहितको कोरिडोर निर्माणको गर्ने बारेमा छलफल भएको बताइएको छ।  मन्त्री कार्कीको सचिवालयका अनुसार प्रदेश १ को विहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले नेपाल र विहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धसहितको कोरिडोर निर्माण गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिएका थिए ।

गत पुस २२ गतेदेखि बन्द रहेको मिरगञ्ज पुलको विकल्प खोज्ने बारेमा पनि छलफल भएको छ ।  विराटनगरको रानी भन्सार भन्दा करिब चार किलोमिटर दक्षिण रहेको मीरगञ्ज पुलको विकल्प खोज्न मन्त्री कार्कीले आग्रह गरे । पुल भासिएपछि रानी नाकाबाट मालवाहक साधनबाट आयात–निर्यात रोकिएकोले त्यसको विकल्पमा रहेको अर्को पक्की पुल अविलम्ब सञ्चालनमा ल्याउन उनले प्रसादलाई आग्रह गरेका छन् ।

दुवै प्रदेशमा हुने गरेका आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतको विहारसँग जोडिएको सीमा नाकामा सुरक्षालाई व्यवस्थित बनाउने, दुई प्रदेशको सीमा क्षेत्रमा सामाजिक सद्भाव बढाउने विषयमा पनि सकारात्मक छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *