चितवनमा कार र टिपर ठोक्किँदा आमा छोराको मृत्यु

काठमाडौँ । चितवनमा टिपर र कार ठोक्किँदा आमा छोराको मृत्यु भएको छ । शुक्रबार बिहान ८ः२० बजे भरतपुरस्थित १५ किलो भन्ने स्थानमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिङबाट नारायणगढका लागि छुटेको बा ११च ५७८८ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपर एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा धादिङको गल्छी गाउँपालिका- १ की ३६ वर्षीय निशा ओली ढुंगाना र उनका ९ वर्षीय छोरा निमेष ढुंगाना रहेको छन् । मृतक निशाको बिहान १०ः५५ बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो भने निमेषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परी कारमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मृतक निशाका श्रीमान् ३५ वर्षीय राजकुमार ढुंगाना र आमा चितवनको राप्ती गाउँपालिका-१ बस्ने ५८ वर्षीय धीरमाया ओली रहेकी छन् । हाल उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । भने टिपर चालक प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले पनि जनाएको छ ।









