गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य

‘घट्दै छन्, रूख छैन आश्रय तथा पाइन्न खाने फल
छैनन् जंगल बस्नलायक घटे तिम्रा सुरक्षास्थल
घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि
चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।’
(वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी)

तालैतालको बगैँचा शहर लेखनाथका खास्टे, दिपाङ र न्युरेनीमा विगतमा जस्तो जलचरा अहिले देख्न पाइन्न । विश्वसम्पदा सूचीमा सूचीकृत ती ताल वरपर रहेका सिमसार क्षेत्र संकटमा पर्दै गएपछि त्यहाँका चरा गुँदेतालतिर सरेका छन् ।

सिमसार क्षेत्र संकटमा पर्दै गएपछि वर्षेनी जलचराको संख्या घट्दै गएको छ । पोखराकै जलचरा पर्याप्त पाइने फेवातालमा पनि वर्षेनी जलचराको संख्या घट्दो छ । फेवातालको सिमसार क्षेत्रको जग्गाको झण्डै ९५ प्रतिशत व्यक्तिका नाममा भएका कारण पनि सिमसार लोप हुने अवस्थामा पुगिरहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् ।

पोखरामा हालै गरिएको जलपक्षी गणनाबाट पनि सिमसार क्षेत्र जोखिममा पर्दै जाँदा चराको बासस्थान नै परिवर्तन हुन थालेको पाइएको हो । नेपालमा सन् १९८७ देखि वर्षेनि नियमित रूपमा जलपक्षी गणना गरिँदै आएको छ । सन् २००४ देखि कास्कीको पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको घिमिरेले जानकारी दिए ।

प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गरिन्छ । चराको बासस्थान सिमसार क्षेत्रका संरक्षणमा स्थानीय चासो पुगोस् भन्ने उद्देश्यका साथ स्थानीयवासीका साथै जनप्रतिनिधिसमेतलाई आमन्त्रण गरिएको थियो । यस वर्ष पुस १७ – माघ ५ ९जनवरी १–१९० सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागमा जलचराको गणना गरिएको गणनाका क्षेत्रीय प्रतिनिधि घिमिरेले जानकारी दिए ।

दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनका अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना शुरू गरिएको थियो । पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पक्षी संरक्षण संघ पोखरा र पोखरा पक्षी समाजका संलग्नतामा जलचरा गणना हुँदै छ ।

पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रूपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिएको थियो । हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका जलचरा अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका देखिएको छ ।

पछिल्ला वर्षमा ताल संरक्षणका नाममा जथाभावी बाँध निर्माण गर्ने क्रमले पनि सिमसार क्षेत्र संकटमा परिरहेको सरोकार पक्ष बताउँछ । लेखनाथको मैदी तालमा बाँध तयार भएसँगै धान खेत मात्रै बाँकी रहेको र सिमसार क्षेत्र प्रभावित भएको देखिएको छ । रूपातालमा पनि बाँध बन्ने क्रममा रहेको र त्यसले सिमसार क्षेत्र पुर्ने देखिएको घिमिरेले बताए ।

पछिल्ला वर्ष चराको संरक्षणका लागि विभिन्न पहल भएका छन् । संस्थागत रूपमा सरकारले नै लाटोकोसेरो, गिद्ध, डाँफे आदि चराको संरक्षणका लागि गुरुयोजना तयार गरी काम अघि बढाइएको छ ।

पुस्तकमा चरा

नेपालका चराका विषयमा झण्डै साढे दुई दशक अनुसन्धान गरेका विशेषज्ञ रोबर्ट एल फ्लेमिङ सिनियर र रोबर्ट एल फ्लेमिङ जुनियरले विसं २०२६ मा तयार गरेका ‘बर्डस् अफ नेपाल’ पुस्तकमा नेपालमा पाइने चराबारे उल्लेख गरिएको छ । उनीहरूसँग हेम पौडेल र हिरालाल डङ्गोलले प्रत्यक्ष सहभागी भएर काम गर्नुभएको थियो । तत्कालीन समयमा नै उक्त पुस्तक जापान, साउदी अरब, क्यानडा, बेलायत, फ्रान्स, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया जस्ता राष्ट्रका अन्तरराष्ट्रिय पुस्तकालयमा पुगेको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठानले २०३९ सालमा ‘नेपालका चराहरू’ कृति प्रकाशन गरेको थियो । पछिल्ला समयमा चराका अध्येताले विभिन्न खोज तथा अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने गरेका छन् ।

‘प्रकृतिको कुचिकार’ गिद्धलाई समेट्दै दुई वर्षअघि चराको अध्ययन –अनुसन्धानमा लागेका तीन युवाको संयुक्त प्रयासमा ‘नेपालका गिद्धहरू’ नाम सचित्र पुस्तक बजारमा ल्याइएको थियो । पोखरा पक्षी समाजका अध्यक्ष घिमिरे, सचिव हेमन्त ढकाल र सदस्य कृष्णप्रसाद भुसालका संयुक्त प्रयासमा ६८ पृष्ठको पुस्तक प्रकाशन गरिएको हो । संरक्षणका अभावमा गिद्ध लोपोन्मुख बन्दै गएको वास्तविकतामा संरक्षण गर्दै पर्यावरणीय संरक्षणसमेतलाई टेवा पुर्‍याउने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याइएको हो ।

नेपालमा गरिएको विभिन्न अध्ययनानुसार दुई दशकमा गिद्धको संख्या झण्डै ९० प्रतिशतले घटेको पाइएको छ । गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध संकटापन्न अवस्थामा पुगेको अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जनाइएको छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्रीवितरणमा प्रतिबन्ध लगाई विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइने गरेको छ । नेपालमा पाइने सबै प्रजाति पोखरामा पनि पाइन्छ । नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डंगर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदमा आउने गर्छन् । हिउँदमा आउने लामो ठुँडे भारत तथा खैरो गिद्ध मंगाेलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवम् किर्गिजस्तानबाट आउने गरेका छन् । संख्यात्मक रूपमा नेपालमा पाइने हिमाली गिद्ध १० हजार तथा डंगाेर र सेता गिद्ध दुई हजार छन् । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँचपाँच सय पाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्ध भने ५० देखि ७५ को हाराहारीमा छ । बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन् ।

पोखराका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा डेढ दशकअघिसम्म धेरै गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । गिद्ध संरक्षणका उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । तीन लेखकको सो पुस्तकमा नेपालमा पाइने गिद्धका प्रजातिको सचित्र वर्णनका साथै तिनको संरक्षण र चुनौती, नेपालमा भइरहेका संरक्षणका प्रयास एवं त्यसमा समुदायको योगदानलगायत विषयलाई समेट्ने प्रयास गरिएको छ ।

त्यस्तै पोखरा पक्षी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासमा आफ्नो लामो समयको चरा अध्ययनलाई समेटेर सचित्र पुस्तक ल्याएका छन् । अंग्रेजी भाषामा लिखित १४० पृष्ठमा समेटिएको पुस्तकमा पोखरा उपत्यकाको नक्सासहित यहाँका चरा हेर्न सकिने मुख्य तालतलैया तथा स्थानविशेषको चर्चा गरिएको छ ।

सिमसार क्षेत्र संकटमा पर्दै जानु, प्रदूषण, वनजंगल विनाशलगायत कारणबाट पनि चरा संकटमा परिरहेको यस क्षेत्रका अनुसन्धाताको तर्क छ । पोखरा र आसपासका नौ ताल रामसारमा सूचीकृत छन् भने पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । यस क्षेत्रमा विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ । पोखराका फेवासहित सबै तालमा अचेल पाहुना चरा आउनेक्रम घटेको छ ।

विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छाडिएको स्थानीयवासी बताउँछन् । कास्कीको दक्षिण भेगस्थित सुरौदी खोला किनारामा एक दशकअघिसम्म धेरै हुटिट्याउँ पाउने गरिएकामा पछिल्ला वर्षमा देख्न छाडिएको स्थानीयवासी सुनिलराज सापकोटाले जानकारी दिए । उहाँका अनुसार झण्डै डेढ दशकअघिसम्म सुरौदी खोला र आसपासमा देखिने गरेका चरा अहिले देखिँदैन ।

संरक्षणका अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा खोलामा माछालगायत जलचरमा कमीजस्ता कारणले चरा घटेको हुन सक्ने उहाँले बताउनुभयो । लेखनाथस्थित रूपातालमा दशकअघिसम्म पाइने दाह्रे र सेतोहाँस अहिले पाउन छाडिएको स्थानीयवासी बताउँछन् ।

यसअघि २०७४ का हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीन प्रजाति घटेका छन् । अध्ययनले केही वर्षका अन्तरालमा चरामा ५० प्रतिशत कमी आएको देखाएको छ । विगतमा धेरै आउने क¥याङकुरुङ पछिल्ला वर्षमा देखिन छाडेको त था हुटिट्याउँ कताकति देखिन थालेको छ । त्यस्तै पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ । पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइन्छन् ।

नेपालमै मात्रै पाइने ‘काँडेभ्याकुर’ पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिन्छ । पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइन्छन् । धेरै मांसाहारी चरा पाइने भएकाले पोखरालाई मासांहारी चराको राजधानीका रूपमा समेत लिने गरिएको छ । पोखरा पानी चराका लागि उपयुक्त मौसम र भूगोल रहेको बताउने अनुसन्धानकर्ता पछिल्ला समय मानवीय गतिविधि तथा सिमसार एवं पानी रहेका क्षेत्र हराउँदै गएपछि चरा समस्यामा परेको बताउँछन् ।

चरा पर्यटन

हिमाली तथा पहाडी दृश्यावलोकनसँगै साहसिक पर्यटनमा पनि चासो र चर्चा कमाएको पोखरा चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाका कारण यो क्षेत्र चराको रोजाइमा पर्ने गरेको छ । पछिल्ला वर्ष पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनि बढ्दै गएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत चरा हेर्नकै लागि आउने गरेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । विशेषतः जाडो छल्न चीन, मंगाेलिया, साइबेरियालगायत स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराका फेवासहित सबै तालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेका छन् ।

पोखराका तालतलैया, फेवाताल किनारस्थित कोमागाने पार्क, वसुन्धरा पार्क, फेवातालपारिको रानीवन आदि पर्याप्त चरा पाइने स्थान हुन् । संरक्षणका अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछालगायत जलचरमा कमीजस्ता कारणले चरा घटेको छ ।

चराको संरक्षण एवं पोखराको पर्यटकीय विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ पोखरा पक्षी समाजका आयोजनामा केही वर्षयता चरा उत्सव गर्न थालिएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवं संरक्षणसमेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव गर्न थालिएको हो । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पोखराका अष्ट्रियन क्याम्पबाट सिकारी प्रजातिका चरा बसाइँसराइ गरेको देख्न पाइन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउन सकिने अवस्थालाई दृष्टिगत गर्दै पदयात्रा क्षेत्रमा पनि चरा पर्यटनलाई सँगसँगै अघि बढाउन खोजिएको छ ।

पोखरा नजिकै तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पदयात्रासँगै चरा पर्यटनलाई पनि अघि बढाउने लक्ष्यका साथ पोखरा पक्षी समाजले गरेको चरा अध्ययनका क्रममा उक्त क्षेत्रमा सबैभन्दा बढी काँडेभ्याकुर भेटिएको र अन्य अतिसंकटमा परेको केही पनि देखिएको थियो । उक्त क्षेत्रमा संरक्षणका सूचीमा रहेको लुइँचे र मांसाहारी प्रजातिका चरा भेटिएका छन् ।

सुन, डङ्गर, सेतोलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी बाज, बौडाई, कालो चिल, काकाकुल, सिक्रा, वनबाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बीउकुहियो, लेकाली उलुक, कटुसटाउके मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे, काठफोर, लटुुसक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरालगायत प्रजातिका चरा भेटिएका छन् ।

संरक्षणका क्षेत्रमा क्रियाशील ‘प्रकृतिका साथीहरू’का आयोजनामा सहस्राब्दी पदमार्गको राङभाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुँचिल उत्सव पनि गरिएको थियो । त्यस्तै संस्थाले उक्त क्षेत्रमा हालै जाडाका समयमा गरेको पर्यावरणीय अध्ययनबाट १७२ प्रजातिका चरा र ५५ प्रजातिका पुतली फेला पारेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिए । आउँदो गर्मीमा पनि चरा अध्ययन गरिने बताइएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ५०० प्रजातिका चरा पाइन्छन् जसमा १०० स्तनधारी प्रजातिका छन् । नेपालमा पाइने ८८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा ६०० प्रजाति पाइने भएकाले समग्र गण्डकी प्रदेशलाई चरा पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सक्ने देखिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए । ‘पछिल्लो समय मर्दी हिमाल पदयात्रा क्षेत्रका साथै कास्कीकै धम्पुसलगायत स्थानमा विगतमा देखिने जस्तो डाँफे, मुनाल देख्न छाडिएको छ, अब चरालाई असर पार्ने किसिमका काम, होहल्ला आदिलाई कम गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ ‘, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *