सांसदको सुविधा समाजसेवामा, भन्छन्ः गठबन्धन टुटेपनि समयमै चुनाव हुनुपर्छ

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले सबै सरकारी सुविधा समाजसेवामा लगाएका छन् । उनले मंगलबार एक कार्यक्रम गरी वर्षभरीमा गरेको सहयोगबारे जानकारी गराएका हुन् । १ वर्षमा सरकारबाट ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ तलवभत्ता पाएकोमा उनले १३ लाख ६३ हजार ८ सय रुपैयाँ सहयोग गरेको बताएका छन् ।

सुविधाभन्दा ५ लाख ८१ हजार ४ सय बढी सहयोग गरेको उनले बताए । कोरोना भाइरसले लकडाउन भएपछि आफूले स्थानीयको जिवनरक्षाका लागि सहयोग गरेको दवाडीले बताए । ‘कोरोना भाइरसका कारण जनजिवन अस्तब्यस्त भयो । यो वर्ष कोभिड नियन्त्रणमा मेरो उपस्थिति रह्यो । आफैले औषधी किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका बेला बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने औषधी बोकेर म घरघरै पुगें,’ उनले भने, ‘विभिन्न विरामीको उपचारमा अस्पतालमै पुगेर पनि सहयोग गरें । औषधी र उपकरण किनेर स्वास्थ्य चौकीमा दिएँ । दीर्घरोगीलाई औषधी वितरण गरें ।’

शिक्षा, खेलकुद, भवन निर्माण, बाटो र छात्रवृत्ति लगायतका क्षेत्रमा उनले सहयोग गरेको बताए । राजनीतिलाई समाजसेवाका रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । ‘राजनीति समाजसेवा हो । सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘साना साना काममा सरकारको नजर पुग्दैन । सरकारले सहयोग गरोस् भनेर कुरिरहनु पनि भएन । सकेको सहयोग गरें ।’ राज्यलाई कमजोर बनाएर चर्चाका लागि आफूले सहयोग नगरेको उनले सुनाए ।

फरक प्रसंगमा दवाडीले राजनीतिक रुपमा देश संकटपूर्ण अवस्थामा रहेको बताए । ‘देश अहिले संकटपूर्ण अवस्थामा छ, तपाईंहरुले बुझिरहनुभएको छ । राजनीति, नागरिकको स्वास्थ्य र प्राकृतिक विपत्तिका कारण देशमाथी जोखिम दिनानुदिन बढिरहेकै छ,’ उनले थपे, ‘यस्तो अवस्थामा सरकारलाई सचेत नागरिकहरुको सहयोग झनै धेरै आवश्यक छ । संविधानको कार्यान्वयन स्वरुप अहिले गठबन्धनको सरकार बनेको छ । अप्ठ्यारो परिस्थितिबाटै भएपनि राज्य र नागरिक प्रतिको न्युनतम जिम्मेवारी सरकारले पूरा गरोस् ।’

कोरोनाकालमा गरिब वर्ग बढी जोखिममा परेका भन्दै उनीहरुका लागि राज्यले खर्च गर्नुपर्ने दवाडीको सुझाव छ । सरकारको कामबाट नागरिक सन्तुष्ट नभएका उनको टिप्पणी छ । ‘कठिन परिस्थितिबाटै काम भैरहेको छ । तर अपेक्षाकृत छैन । जनताको न्यूनतम दायित्वबाट राज्य अलि पछाडी छ,’ उनले सुनाए । सबैखाले निर्वाचन समयमै हुनुपर्ने दवाडीले बताएका छन् । नेपाली कांग्रेस गण्डकीको संसदीय दल प्रवक्ता समेत रहेका उनले गठबन्धन तोडेरै भएपनि संविधानले तोकेको मितिमा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *