सरकार आफ्नो दायित्वबाट भाग्योः एमाले

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गण्डकी सरकार आफ्नो दायित्वबाट भागेको आरोप लगाएको छ ।

सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर १९ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै एमालेले यस्ताे आरोप लगाएको हाे ।

विगतमा एमाले सरकारले सञ्चालन गरेका योजना काटेर नयाँ कार्यक्रम ल्याएकोमा एमालेले विराेध जनाएकाे छ । सरकार अविछिन्न उत्तराधिकारी भएकाे भन्दै एमालेले अहिलेको सरकारले सो दायित्व पूरा नगरेको बताएकाे छ । ध्यानाकर्षण पत्रमा सरकारलाई नेकपा एमाले संसदीय दल गण्डकी प्रदेशको तर्फबाट २०७८ साउन ३१ गते पत्र लेखी ध्यानाकर्षण समेत गराइएको बताइएकाे छ ।

तत्कालीन समयमा पनि ११ बुँदे पत्र बुझाएको स्मरण गर्दै एमालेले पञ्चवर्षीय योजनाको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले पुराना योजना काटेर बजेट नभएका योजना थपेको संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

‘विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यहरूलाई कटौती गरेर नयाँ र गैर-बजेटका योजनाहरूमा रकमान्तर गरिरहेको छ । गण्डकी सरकारको यस्तो रबैयाले यस प्रदेशका जनताको विकासको अपेक्षामा ठूलो कुठाराघात भएको छ,’ एमाले भन्छ, ‘राजनीतिक पूर्वाग्रहका साथ विकास योजनाहरूलाई हेर्नु र विकासका कामका ढिलाइ गर्नु लोकतान्त्रिक चरित्र होइन ।’

सरकारले गत वर्षहरूमा नै ठेक्का प्रक्रियामा गएका गौरवका आयोजना र बहुवर्षे योजनाहरूका काम प्राथमिकताका साथ सम्पन्न नगरेकाे आराेप समेत एमालेले लगाएकाे छ ।

गण्डकी गौरवका आयोजना र निर्धारण गरिएका बहुवर्षीय योजनाहरू सम्पन्न नगरी नयाँ योजना अघि बढाएकोमा एमालेको गुनासो छ । एमालेले कोभिड नियन्त्रण, खोप कार्यक्रम तथा विपद् व्यवस्थापनमा गम्भीर हुन समेत सरकारलाई आग्रह गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *