सहिद सप्ताह शुरू, पहिलो दिन शुक्रराजको सम्झना

काठमाडाैँ । पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको छ ।

सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडाैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन्  ।

सहित शुक्रराजको जन्म विसं. १९५० मा बनारसमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालेका थिए । त्यसपछि नेपाल फर्केका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए ।

धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए । त्यसपछि उनलाई राणाको विरोध गरेको आरोपमा पक्राउ गरिएको थियो । विसं. १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड्याइ प्राणदण्ड दिइएको थियो । महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्ण कदको शालिक उनीहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरिसकेको छ । यस वर्ष सहिद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम रहेको छ ।

कोरोना महामारीकाकारण यसपटक मन्तव्य कार्यक्रम भने राखिएन । संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *