भेडिगोठमा रेडियो

पोखरा । उत्तरी गोरखासहित मनाङ र मुस्ताङ सञ्चारका हिसाबले गण्डकी प्रदेशमै पछि छन् । यी क्षेत्रमा यातायातदेखि सूचनाका माध्यम कम मात्र पुगेका छन् । त्यसमाथी भेडीगोठमा बस्नेहरू त सँधै सूचनाबाट बन्चित हुँदै आएका छन् ।

सुगममा सामाजिक सञ्जाल र सञ्चारको तीव्र विकास भइरहेको छ । नागरिक नयाँ नयाँ प्रविधिमा रमाईरहेका छन् । तर गोरखाको धार्चे गाउँपालिकाले भने सञ्चार विस्तारको कठिनाईले गोठालाहरुलाई रेडियो वितरण गरेका छन् । देश विदेशमा हुने घटना र खासगरी मौसमबारे जानकारी दिने हिसाबले गोठमा बस्ने गोठालाहरूलाई गाउँपालिकाले रेडियो वितरण गरेको हो ।

लाप्राकका ५० वटा गोठमै पुगेर सोलार जडित रेडियो वितरण गरिएको अध्यक्ष सन्तोष गुरुङले बताए । ‘हिउँ पर्छ, असिना पर्छ, हावाहुरी चल्छ । हाम्रा गोठाला दाजुभाइहरुले मौसमअनुसार चरनमा लगेको गाईबस्तु गोठमा भित्र्याउँदा सजिलो हुन्छ । मौसमबारे जानकारी हुन्छ,’ उनले भने, ‘गोठमा जाँदा ५-६ महिना जंगलमा बस्छन् । फोन सम्पर्क हुँदैन । घरपरिवारबाट विच्छेद हुनुपर्छ । यस्तो बेला देशविदेशका खवर पनि उनीहरुले सुन्न पाउँछन् । र सुचनाबाट विमुख हुनुपर्दैन ।’

गोठमै बसेर रेडियो सुन्न पाउँदा गोठालाहरु खुशी छन् । रेडियोमा जडित सोलार पाताले ब्याट्री फेरिरहनु पर्दैन । कोभिडका कारण विद्यालय बन्द छन् । इन्टरनेट नभएकाले अनलाइन कक्षा पनि सम्भव छैन । गोठमै बसेर बालबालिकाहरुले रेडियोबाटै पढ्न पाउने गाउँपालिकाले जनाएको छ । बाँकी गोठमा पनि छिट्टै रेडियो वितरण गरिने पालिकाले जनाएको छ । गण्डकी प्रदेशमै सबैभन्दा धेरै भेडिगोठ धार्चेमा छन् । यहाँका नागरिक अझै खर्कमा बस्तु पालेर दैनिकी चलाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *