सुत्केरी र नवजात शिशुको मृत्यु

सिमकोट । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशुको मृत्यु भएको छ । सिमकोट गाउँपालिका-५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र उनका  नवजात शिशुको माघ ५ गते मृत्यु भएको हो ।

टीकाका ससुरा धनसिंह सार्कीका अनुसार सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल लगिएकी टीकाको शल्यक्रिया गरेर शिशु जन्माइएको थियो ।  शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनको सोही राति नै मृत्यु भएको हाे ।

जुम्लाको नच्दनाथ नगरपालिका-८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइती पक्षले टीकाको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै राखिएको छ । माइती पक्षले के-कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो जानकारी नहुँदासम्म शव उठाउन नदिएपछि टीकाका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको भने यो पहिलोपटक हो । यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ । जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान गुमाउने गरेका हो । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । यस्तै गत पुस ३० गते जिल्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका वडा ६ का गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *