कोरोनाले छोपिसक्यो, सरकार भन्छ- ‘होल्डिङ सेन्टर बनाउन लागेका छौँ’

पोखरा । गण्डकी प्रदेशमा दैनिक १ हजार हाराहारीमा नागरिकहरू सङ्क्रमित हुन थालेका छन् । सङ्क्रमणको दर अझै उच्च छ । तर सरकारको प्रतिकार्य कमजोर छ । नाकाहरू खुकुलो छन्, निगरानी बढाएको छैन । तेस्रो लहरसम्म स्वास्थ्य उपकरणमा खासै भिन्नता पनि छैन ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गरे । नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्वयनका लागि प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्चुअल बैठक राखेर तयारीबारे छलफल गरेको छ । ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौँ । कहीँकतै जनशक्ति अभाव नहोस् भनेर व्यवस्थापन मिलाएका छौँ,’ नेपालीले भने ।

तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३ सय ५० जना स्वास्थ्यकर्मी करारमा भर्ना गरेको छ । तर अक्सिजन प्लान्ट दुरुस्त राख्न सकेको छैन । आइसोलेसन बेड र अस्पतालहरू तयारी अवस्थामा छैनन् । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीबाट निर्बाध रूपमा नागरिकहरू छिरिरहेका छन् । मुख्यमन्त्रीले भने छिटै होल्डिङ सेन्टर बनाइने बताए । तनहुँस्थित मर्स्याङ्दी हाइड्रोपावरको स्टोरमा १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने प्रस्ताव गरिएपनि काम अघि बढेको छैन ।

भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा कर्मचारी खटाएर हेल्प डेस्क सुरु गरिएको उनले सुनाए । पोखराका अस्पतालहरूले कोभिड बिरामीको उपचारमा अझै ठूलो रकम असुलिरहेका छन् । त्यसको नियन्त्रणमा समेत सरकार चुकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरूले विभिन्न मेसिन बिग्रिएर उपचार गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

कोभिड शून्य रहेको मनाङमा एक्स-रे मेसिन बिग्रिए पनि जडान हुन सकेको छैन । ‘बिरामीको उपचार गर्ने मेसिन ठिक छैन । बनाउन धेरै पटक आग्रह गरेका छौँ, बनेको छैन,’ प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले भने, ‘सरकारको चासो तत्काल पुगोस् ।’ लमजुङमा अक्सिजन प्लान्ट नै मर्मत गर्नुपर्ने अवस्थामा छ । २ वटा सामुदायिक अस्पतालहरूमा औषधी र अन्य सामग्री अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्याङ्जामा थप अक्सिजन प्लान्ट स्थापनाका लागि बिजुलीको लाइन छैन । नाकामा होल्डिङ सेन्टर बनाउन माग गरेका छन् । अन्य केही जिल्लामा निषेधाज्ञा कडा पारिएको छ । पर्वत, गोरखा, मुस्ताङ लगायत जिल्लामा प्रवेश कडाइ छ । स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनमा जोड दिएको बताइन् । महामारी व्यवस्थापनका लागि ३ तहकै सरकार एकाकार भएर लाग्नुपर्ने भन्दै उनले प्रदेशले समन्वय गर्ने बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *