सहरको विभेद (कविता)

सहरको विभेद

राति
चाँडै निदाउन नदिने यो सहर
बिहान
सबेरै ब्युँझाउँछ ।

हिँड्न खोज्छु म
ऊ दौडाउँछ
थाकेर थच्चिन्छु
बलजफ्ती घिसार्छ
सहर मलाई झस्काइरहन्छ ।

‘भयो’ भन्छु म
ऊ ‘भएन’ भन्छ
‘हुन्छ’ म भन्छु
ऊ ‘हुँदैन’ भन्छ
सहर मलाई झस्काइरहन्छ ।

सहर
मलाई विभेद गरिरहन्छ
अरुलाई काखा
मलाई पाखा पार्छ
अरूको उचाइ नापेर
मलाई होच्याउँछ
अरू दौडेको देखेर
मलाई खोच्याउँछ
अरूजस्तो
तँ हुन्नस् भन्छ
सहर मलाई झस्काइरहन्छ ।

सहरको यो नियमसँग
म पटक्कै राजी छैन
मेरो घोर असहमति छ
सहरको नजरमा
म केही नहुनु
पनि पक्कै केही हुनु हो
खै सहरले कहिले चिन्छ ?
म त्यो दिनको
पर्खाइमा छु ।

प्रतिक्रिया

2 thoughts on “सहरको विभेद (कविता)

  1. सार्है सान्दर्भिक कविता प्रस्तुत गर्नु भयो भाई बधाई छ ! अझै यस्तै कविताहरु पस्किदै जानु होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *