बजारमा सिटामोल अभाव : सरकार र व्यवसायी भन्छन्- केही दिनमै सहज हुन्छ

काठमाडौँ । केही हप्तादेखी काठमाडौँ उपत्यकामा पारासिटामोल औषधीको अभाव भएको छ । कोभिड संक्रमण बढ्दै जाँदा ज्वरो कम गराउने औषधी पारासिटामोल अभाव भएको हो । पारासिटामोल अभाव हुँदा बिरामीलाई समस्या भएको छ ।

सरकार र व्यवसायीले भने पारासिटामोल पाउनै छाडेको नभइ माग बढेकाले कतै अभाव देखिएको बताएका छन् । औषधी व्यवस्था विभागले पारासिटामोलको केही अभाव भएपनि ठ्याप्पै पाइँनै छोडेको भन्ने कुरा सत्य नभएको दाबी गरेको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले विभाग र निजी व्यवसायले समेत बजारमा पारासिटामोल पठाइरहेको भन्दै उपत्यकामा केही अभाव भने रहेको मकालुखबरलाई बताए ।

अहिलेको भाउमा बेच्दा घाटा भएको भन्ने नीजि उत्पादकको भनाइ रहेको र यसै कारणले उत्पादनमा केही कम भएको ढकालको भनाइ छ । उनले भने, ‘धेरै घाटा भयो । अहिलेको मूल्यमा उत्पादन गर्नै सकिँदैन भन्ने गुनासो नीजि उत्पादकहरुले गर्दै आउनुभएको हो र अहिले पनि त्यही कुरा उठेको छ ।’

बजारमा बढी माग भएको बेलामा अभाव सिर्जना गराएर सरकारलाई असफल गराउन खोजिएको भने हुनसक्ने ढकालले बताए । विभागले आज पनि अनुगमन गरिरहेको उनको भनाइ छ ।

औषधी उत्पादक संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने अचानक कोभिड संक्रमण फैलिँदा माग बढेको र आपूर्तिभन्दा बढी माग हुँदा अभाव जस्तो देखिएको बताए । हिजो १० लाख ट्याबलेट पारासिटामोल बजारमा पठाएको भन्दै उनले दुई चार दिनमै केही अभावको अवस्था पूर्ण रुपमा हट्ने उनले बताए ।

उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरेर राख्नाले पनि अभाव भएजस्तो देखिएको श्रेष्ठको भनाइ छ । मुल्यवृद्धि गराउन कृत्रिम अभाव सिर्जना गरिएको आरोपमा कुनै सत्यता नभएको उनको दाबी छ । कोभिडका कारण माग बढ्नु नै अहिलेको मूख्य समस्या भएको उनकौ भनाइ छ ।

अहिले नेपालका २५ वटा र भारतका २ वटा कम्पनीले उत्पादन गरेको सिटामोल बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *