पत्रकार विश्वकर्माको निधनबारे पत्रकार महासंघले अध्ययन गर्ने

काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधनका विषयमा नेपाल पत्रकार महासंघले अध्ययन गर्ने भएको छ । केन्द्रीय सदस्यहरू रामृकृष्ण अधिकारी र प्रकाश धौलाकोटीलाई अध्ययन गर्ने जिम्मा दिइएको हो । अध्ययन गरेर एक हप्ताभित्रमा निचोड प्राप्त भएपछि त्यसैअनुसार अघि बढ्ने महासंघले जनाएको छ ।

‘सहज उपचारको अभावमा मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ’ महासंघका अध्यक्ष विपुल पोख्रेलले भने, ‘स्वास्थ्य संस्थामा सहज उपचारको प्रबन्ध नहुनु र बिरामीसंग उपचार रकमको अभाव हुँदा कोरोना परिक्षणसमेत नहुनु दुःखद र गंभिर विषय हो ।’

संञ्चार संस्थामा कार्यरत पत्रकार बिरामी पर्दा उसको उपचारको जिम्मा सम्बन्धित संचारसंस्थाले लिनुपर्नेमा त्यसो भएको पनि नदेखिएकाले अध्ययन गर्न आवश्यक भएको पोख्रेलले जिकिर गरे । ‘यो अध्ययनले एउटा श्रमजिवी पत्रकारको समस्या र राज्यको कमजोर स्वास्थ्य सेवाको अवस्था चित्रण हुने छ’ पोख्रेलले भने । मृतक पत्रकार विश्वकर्माले आफूले काम गरेका संचारसंस्थाहरूबाट आफ्नो तलव सुविधासमेत नपाएको बुझिएको भन्दै पोख्रेलले पारिश्रमिक नदिने संस्थाले उन्मुक्ति नपाउने बताए ।

फ्रण्टलाइनर पत्रकारको उपचारको सवालमा गंभिर बन्न राज्यलाई दवाव नै दिनुपर्ने अवस्था देखिएको भन्दै अध्यक्ष पोख्रेलले कोरोना संक्रमण देखिएका पत्रकारहरुको उपचारको प्रवन्ध मिलाउन महासंघका सबै संरचनाहरुलाई तयारी अवस्थामा राखिएको जानकारी पनि दिए ।

विश्वकर्माको बिहीबार राती काठमाडौँमा निधन भएको थियो । टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा अचानक विरामी भएपछि निजामती कर्मचारी अस्पतालमा पुर्याइएकोमा त्यहाँबाट पाटन अस्पताल पठाइएको र त्यहाँ पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको विश्वकर्माको परिवारले जनाएको छ ।

अस्पतालले उपचारमा सहयोग नगरेको, पीसीआर लगायत परीक्षणका लागि ४ हजार रुपैयाँ चाहिनेमा १ हजार नपुगेको, केहीबेरमा दिन्छुभन्दा पनि नमानेको र गम्भीर अवस्थाका बिरामीलाई रेफर गर्दा अक्सिजनसमेत नदिएको परिवारले आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *