सुर्खेतको छिन्चुमा साढे १८ करोडमा बसपार्क बन्ने

सुर्खेत । शहरी पूर्वाधार विकास कार्यक्रम यूएनडीपी अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बसपार्क आयोजनाका लागि ऋण सम्झौता भएको छ ।

सन्तुलित शहरी विकास आजको आवश्यकता भएसँगै नगर विकास कोषले बढीभन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्राविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप भेरीगंगा नगरपालिका, वडा नं. १२ मा निर्माण हुने ‘छिन्चु  बसपार्क आयोजना निर्माणका लागि नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता कार्यक्रममा नगरपलिकाका उपप्रमुख रेणु आचार्य (ढकाल) को समेत उपस्थिती रहेको थियो ।

छिन्चु बसपार्क निर्माणको कुल अनुमानित लागत रकम १८ करोड ५८ लाख २० हजार रहेकोमा ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको दोस्रो स्थान छिन्चुमा निर्माण हुने बसपार्क प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको छ । करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखले यसलाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजनाले कर्णाली प्रदेशवासीलाई व्यवस्थित शहरी सेवा सुविधा प्रवाह गर्ने बताएका छन् ।

ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको बसपार्कले पूर्वाधारको मात्र विकास होइन उक्त क्षेत्रकै समष्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *