तोरीबारीमा टिकटक बनाउनेको भीड

गलेश्वर । उत्तरतिर लस्करै चाँदीझैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौर फाँटको बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा हिजोआज युवायुवतीको भीड छ ।

बेनी-बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुलिरहेका छन् ।

स्थानीय सुनिता बोगटीले घर अगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै सोचेकी थिइनन् । घरअगाडि कालोपत्र सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उनी दंग छिन् । केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।

कोरोना सङ्क्रमणको रोकथामका लागि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने, भीडभाड गर्न नपाइने सूचना जारी गरेको छ । तर गत शनिबार माघेसङ्क्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले भीड नगर्न आग्रह समेत गरेको थियो । बेनी-बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको सङ्ख्या अत्यधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाइ मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो ।

‘तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ,’ स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले भने । उनकाअनुसार तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर टिकटकमा राख्ने मानिसहरू आउने गरेका छन् । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयको व्यापारमा समेत सघाएको छ ।

तोरीमा रमाउनै आसपासका क्षेत्रमा वनभोजसहित हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ । ‘तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,’ उनले भने । तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।

उता बेनी-४, सिङ्गा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताइन् । ‘टिकटकमा देखेकोभन्दा राम्रो लाग्यो, एकैपटक भीडभाड हुँदा मेला आएजस्तै भएको थियो,’ उनले भनिन् ।

कालोपत्र सडकबाटै तस्बिर लिँदासमेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए । पूर्वसूचना नदिई प्रहरीले दुःख दिएको घुम्न गएकाहरूको गुनासो थियो । स्थानीयले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए ।

यता बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै हटाएको प्रहरीले जनाएको छ । रत्नेचौर-अर्जम-ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकमा रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन् । घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ । नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका पहेँलो तोरी खेती हुन्छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुन्छ ।

साढे दुई दशक अगाडिसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिँडेर आउने गरेका थि ए। तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनीकरण गर्न पहल गरिएको छ । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । समथर भूभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाइ छ । तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तव्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन मागसमेत गरेका छन् ।

छिमेकी बागलुङको कुडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ । तोरीको बोटलाई सागका रुपमा तरकारीसमेत बनाउने गरिन्छ । गाउँबस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *