मानिसकाे जीवन निष्क्रिय नबनाइ कोभिडविरुद्ध लड्ने

विराटनगर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मानिसको जीवन निष्क्रिय नबाइ कोभिडविरुद्ध लड्ने बताएका छन् । प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा खतिवडाले अहिलेको अवस्थामा सकेसम्म भीडभाड नगर्न अपिलसमेत गरे । उनले भीडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत हुने बताए ।

मन्त्री खतिवडाले कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई संघीय सरकारले बल प्रदान गर्नुपर्ने बताए । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले संघीय सरकारसमेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कोभिडको तेस्रो झम्टाइलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पक्षमा रहेको बताए । आर्थिक गतिविधिसमेतलाई क्रियाशील राखी कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा छ ।

तराईमा खोप लगाउने कम

प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश १ का जनसंख्या कम भएका पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । तराईकै जिल्लामा खोप लगाउनेको संख्या कम भएकोमा अब प्रभावकारी योजनामार्फत खोप लगाउने लक्ष्य पूरा गरिने बताए ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश नं. १ मा कोभिड १९ वर्तमान अवस्थाका बारे जानकारी गराएका थिए ।उनले माघ १ गतेसम्म प्रदेश १ मा संक्रमितको संख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको बताए ।

प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गराएका छन् । अहिले प्रदेश १ मा सक्रिय संक्रमित संख्या एक हजार तीन सय ९७ छ । कोभिडका कारण प्रदेश १ मा दुई हजार एक सय ९६ जनाको मृत्यु भएको छ । प्रदेश १ का विभिन्न खोप गरी पहिलो डोज लगाउनेको संख्या २६ लाख र दोस्रो डोजसहित पूर्ण खोप लगाउनेको संख्या १७ लाख ५० हजार छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सेवा क्षेत्रका प्रमुखहरू, प्रदेशस्तरीय मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *