नबिलले नेपाल बंगलादेश बैंक किन्ने प्रारम्भिक सम्झौता

काठमाडाैँ । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन (प्राप्ति) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

बैंकले यसका लागि संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरेका थिए । समितिको सिफारिस अनुसार बिहीबार (पुस २९ गते) सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकले उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेको हो ।

एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउन नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए । नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।

नबिल बैंकले प्राप्ति गर्न भएको समझदारीपत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात कायम गरिएको छ । उक्त प्रारम्भिक सेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनलाई समेत आधार मानी अन्तिम रूपमा तय हुनेछ ।

दुवै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्नेगरी लिएको नीति र बैंकहरूको दीर्घकालीन रणनीतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेको दुवै बैंकले जनाएका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि वाणिज्य बैंकमध्ये सबै सूचकांकहरूमा अग्रणी हुने दाबी पनि गरिएको छ ।

यी बैंकहरूले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । प्राप्ति पश्चात् नबिल बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५० करोड, कर्जा रकम तीन खर्ब र निक्षेप रकम तीन खर्ब १४ अर्ब रुपैयाँ पुग्नेछ । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब रुपैयाँमाथि पुग्नेछ । शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक सङ्ख्या १६ लाख नाघ्नेछ ।

नबिल बैंक ले दिगो बैकिङ्ग लाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यवसायलाई अघि बढाएको छ भने डिजिटल बैकिङ लाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउँदै लिएको छ ।

बिहीबार काठमाडौँ सम्पन्न सो सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *