आधा युरोप ओमिक्रोनको चपेटामा पर्छ : डब्ल्यूएचओ

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आगामी आठ साता (दुई महिना)भित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

डब्ल्यूएचओका डा. हान्स क्लगका अनुसार ओमिक्रोन पश्चिमदेखि पूर्वसम्म छालको रूपमा युरोपमा फैलिरहेको छ । ओमिक्रोन सङ्क्रमणको गति डेल्टा भेरिअन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ । यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ सङ्क्रमणका आधारमा गरिएको हो ।

गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको सङ्ख्या दोबरभन्दा बढी भएको छ । ‘सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिअन्टको लहरमा थपिएको ओमिक्रोन भेरिअन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ,’ डा. क्लगले पत्रकार सम्मेलनमा भने ।

उनले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै आगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित हुने चेतावनी दिए । भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एशियाली देशहरू सङ्क्रमणको तीव्र दबावमा रहेको उनको भनाई छ ।

पछिल्ला अध्ययनहरूका अनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरिअन्टहरूको तुलनामा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम छ । तर यो अत्यधिक सङ्क्रामक भेरिअन्टले पूर्ण मात्रा खोप लगाए पनि सङ्क्रमित गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *